अहिलेका


अख्तियारविरुद्ध जसपाले प्रदर्शन गर्ने

जनकपुरधाम, १५ असोज ।

सत्तारुढ जनता समाजवादी पार्टी नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारिएको विरोधमा प्रदर्शन गर्ने जनाएको छ ।

जसपा नेपालको मधेस प्रदेश समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

जसपा नेपालको प्रदेश समितिका मुख्यसचिव शम्भू झाले जारी गरेको विज्ञप्तिअनुसार शनिबार प्रदेश २ का जिल्ला सदरमुकामहरूमा मसाल जुलुस निकालिनेछन् भने आइतबार जिल्ला सदरमुकामहरूमा वृहत् विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

जसपाले प्रदेश २ का जनताबाट निर्वाचित मुख्यमन्त्रीको कार्यालयमा ‘बेटी बचाउ, बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन छापामार शैलीमा छिरेर सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पुर्याउने काम गरेको भन्दै सो कार्य अत्यन्त आपत्तिजनक र दूराशयपूर्ण रहेको विज्ञप्तिमा जनाइएको छ ।

‘जसपा नेपाल सधैँ अनियमितता, भ्रष्टाचार, कमिसनतन्त्र, माफियावाद र लुटतन्त्रका विरुद्ध सुशासन र सदाचारको पक्षमा रहेको सर्वविदितै छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘राज्यको सम्पूर्ण तह र निकायहरूमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गरिनुपर्दछ।’

अख्तियारको सो कदमले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारमा नैराश्य र हीनताबोध हुने, राष्ट्र निर्माणका लागि गरिने लोककल्याणकरी कार्यक्रममा प्रतिकूल असर पर्ने भन्दै जसपा नेपालको प्रदेश समितिले यस्ता कार्य र कार्यशैलीप्रति घोर विरोध गर्दै भर्त्सना गरेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!