जनकपुरधाम, ९ कार्तिक ।
प्रदेश २ को सरकारले अध्यादेशबाट प्रदेश चलाउन खोजेको आरोप लगाएका छन् ।
मंगलबार प्रदेश सरकारले विश्वविद्यालय सञ्चालन सम्बन्धि ल्याउन लागेको अध्यादेश प्रति टिप्पणी गर्दै चोर बाटोबाट अध्यादेश ल्याएर संघीयता कमजोर पार्न खोजेको आरोप प्रमुख प्रतिपक्षी दलका नेता जितेन्द्र सोनलले गरेका हुन् ।
नेता सोनलले प्रदेश सरकारसंग बहुमत हुँदाहुँदै पनि प्रदेशसभालाई छलेरलाई अध्यादेश मार्फत सरकार सञ्चालनको प्रयास गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको आरोप लगाए ।
उनले भने, ‘लोकतान्त्रिक विधि अनुसार प्रदेश सरकारसंग बहुमत रहँदा रहँदै पनि प्रदेशसभालाई विजनेस नै नदिई कानूनलाई आफ्नो अनुकुल खेलाची गर्नका लागि अध्यादेश ल्याएर जनतालाई भ्रममा पार्न खोजिरहेको छ ।’
उनले अघि थप्दैँ भने, सरकारले अध्यादेश मार्फत सरकार चलाउन खोज्यो, यसले संघीयता संस्थागत हुदैँन, बरु संघीयतालाई संस्थागत गर्नका लागि हाउसमा ल्याई प्रक्रिया अनुसार सो अध्यादेशलाई पारित गर्नुपर्ने देखिन्छ । यसले संघीयताप्रतिको उत्तरदायित्व र सरकारको दायित्व निर्वाहले पनि संघीयता संस्थागत हुन्छ ।’
उनले अध्यादेशमार्फत सरकार चलाउन खोजेको आरोप सरकारमाथि लगाउँदै नेता सोनलले संसद स्थगित रहेको अवस्थामा ल्याउन लागेको अध्यादेशलाई कार्यान्वयन गरेमा यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिए ।
प्रदेशको विकास र सबलीकरणका लागि लोसपा सदैव अग्रसर रहेको भन्दै संसदबाटै सो विधेयक छलफल गरी पारित गर्नुपर्नेमा नेता सोनलले जोडदार माग गरे ।
उनले, ‘दुई तिहाई समर्थनको सरकारले संसदबाटै विधेयक पास गर्नुपर्ने अवस्थामा विधि र व्यवस्थाविरुद्ध अध्यादेश ल्याउने निर्णय भएको छ’, नेता सोनलले रातोपाटीलाई भने, ‘यसले प्रदेश सांसद र जनताको अधिकारलाई हनन गरेको छ ।’
उनले, ‘आपतविपद्, असहज परिस्थिति वा हाउस बोलाउन नसक्ने अवस्था हुने अवस्थामा अध्यादेश ल्याउनुपर्ने हुन्छ, तर अहिले प्रदेश २ सरकारले संघीयता संस्थागत गर्नुपर्ने बेलामा लोकतान्त्रिक मूल्यमान्यता र कानूनको समेत खिल्ली उडाउने काम गरेको छ ।’
