अहिलेका

अनाधिकृत रकम असुली रोक्न गौर नगरप्रमुख जुर्मुराए

अनिल यादव/प्रशोधक
रौतहट, २७ जेठ । गौर नगरपालिकाका प्रमुख शम्भु साहले जुद्ध माध्यमिक विद्यालयले निर्देशनविपरीत शुल्क उठाएको गुनासो आएपछि विद्यालयमा पुगेर कागजपत्र नियन्त्रणमा लिएका छन् । नगरपालिकाको निर्देशनविपरीत विद्यार्थीसित शुल्क उठाउँदै गरेको व्यापक गुनासो नगरपालिका कार्यालयमा पुगेपछि नगरप्रमुख साह आफैँ विद्यालय पुगेका थिए ।

जुद्ध माध्यमिक विद्यालयले निर्देशन तथा सहमतिविपरीत विद्यार्थीसँग अनेक बहानामा शुल्क उठाउने गरेको गुनासो निकै पहिलेदेखि नै गरिँदै आएको छ । शुल्कका विषयमा जुद्ध माविमा हरेक वर्ष विवाद हुने गरेको छ । विद्यालयमा अनाधिकृत रूपमा फेरि शुल्क उठाइरहेको गुनासो नगरपालिकामा पुगेपछि नगरप्रमुख साह शिक्षा शाखाका कर्मचारीसहित विद्यालयमा पुगेर शुल्क उठाउने गरेको रसिदसहितको कागजपत्र नियन्त्रणमा लिएका हुन् ।

विद्यालयमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई प्रवेश परीक्षा दस्तुरको एक सय रुपैयाँभन्दा बढी नबुझाउन पनि नगरप्रमुख साहले आग्रह गरेका छन् । अनावश्यक शुल्क उठाइएको विषयसम्बन्धी कागजातको सम्बन्धित निकायबाट छानबिन गराई आवश्यक निर्णय लिइने नगरप्रमुख साहले बताएका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!