अहिलेका


अनिल झाका मत माग्ने घरदैलोमा काँग्रेसी उत्साह

प्रशोधक समाचारदाता
जनकपुरधाम, कात्तिक २९ गते ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ का पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका नेता अनिलकुमार झा एवम् प्रदेशसभा खका उम्मेदवार परमेश्वर साहका लागि मत माग्न जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ३ मा घरदैलो गरिएको छ ।

साइकल छाप चुनावचिह्न रहेका ती दुवै उम्मेदवारका लागि पाँचदलीय गठबन्धनका नेताकार्यकर्ताहरूले घरपसलमा गएर मतदान गर्ने विधिबारे जानकारी साट्दै साइकल छापलाई मतदान गर्न आग्रह गरेका थिए । उनीहरूले देशको राजनीतिक सत्तामा पाँचदलीय गठबन्धन किन भन्नेबारे पनि मतदातालाई बताएका थिए ।

घरदैलोमा गठबन्धनका सबै दलका स्थानीय नेता सम्मिलित भए पनि काँग्रेसका नेताकार्यकर्ताको बहुलता थियो । गठबन्धनमा आबद्ध काँग्रेसका नेता एवम् यसअघिको निर्वाचनमा प्रदेश खबाट उम्मेदवार रहेका श्याम साहले लोकतन्त्र, बहुलवाद र संघीयता खतरामा परेको र देशमा निरंकुश एवम् प्रतिगामी शक्तिको पुनरुत्थान हुन सक्ने भएकाले पाँचदलीय गठबन्धनलाई मत दिन आग्रह गरे ।

यसैगरी काँग्रेसकै दिपेन्द्र झा भगवानले जनकपुरको भूमि लोकतान्त्रिक आन्दोलनको उर्वरभूमि रहेको भन्दै नागरिकताजस्ता जनताका अधिकारलाई निषेधित गर्ने पार्टीलाई जनकपुरवासीले मत दिन नसक्ने जिकिर गर्दै माहोल सत्ता गठबन्धकै पक्षमा रहेको दाबी गरे ।

नेकपा (एकीकृत समाजवादी) का नेता दिलीप दासले चुनावपछि पाँचदलीय गठबन्धनले नै सरकार बनाउने भन्दै गत पाँच वर्षमध्ये लामो समयसम्म केपी ओलीको स्वेच्छाचारिता र तानाशाही प्रवृत्तिका कारण देशमा राजनीतिक अस्थिरताको शृंखला सुरुभएको र त्यसलाई समाप्त गरी विकास एवम् समृद्धिको यात्रा तय गर्न पाँचदलीय गठबन्धनलाई मत दिन आग्रह गरे । उनले भने, ‘जनविरोधी विचारबाट परिचालित शक्तिलाई यस चुनावमा परास्त गर्नुपर्छ ।’

घरदैलोमा लोसपाका स्थानीय नेता शत्रुधन भगत, काँग्रेसका वडाध्यक्ष प्रत्याशी प्रमोद साह, काँग्रेसकी मेनुका भण्डारी, सुनिता दासलगायत सहभागी थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!