अहिलेका

अनिवार्य छैन तर हाकिमसापको सही त रातो कलमबाटै

मधेस प्रदेशका दुई सचिवलाई भने कालो कलमकै भर

प्रशोधक समाचारदाता
जनकपुरधाम, १० असार ।
राज्यका विभिन्न तहमा पदस्थापित जनप्रतिनिधि र अधिकारप्राप्त सरकारी अधिकारीहरूले कुन रङ्गको मसी भएका कलमले विभिन्न किसिमका लिखतमा तोक आदेश, सिफारिस, निर्णयलगायतका काम गर्ने भन्ने कानुनी व्यवस्था छैन । तर, कार्यकारी ठाउँमा रहेका बहुसँख्यक जनप्रतिनिधि र कर्मचारीहरूले भने अन्तिम सही गर्नुपर्ने ठाउँमा रातो मसी भएका कलम नै प्रयोग गर्छन् ।

तर, मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दीपककुमार दास भने सिफारिस वा आदेशसम्बन्धी पत्रमा रातो मसी भएका कलम प्रयोग नगर्ने सरकारका वरिष्ठ अधिकारीहरू हुन् । मधेस प्रदेशमा दुई कर्मचारीमात्र अपवाद हुन् भन्ने होइन । तर, सबै खाले लिखतमा कालो मसी भएका कलम प्रयोग गर्ने अधिकारीहरू भने हुन् ।

मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो । प्रमुख जिल्ला अधिकारी भएर समेत कामकाज गरिसकेका उनले सरकारी कामकाजका लागि कालो मसी भएका कलम प्रयोग गर्दैआएका छन् ।

केही निकायले सेवाग्राहीका लागि निवेदनको ढाँचाअन्तर्गत समेट्नुपर्ने विषयवस्तु, अक्षरको आकार र कुन रङ्गको मसी प्रयोग गर्ने भने सामान्यतया तोकिदिएका हुन्छन् । तर, ती निवेदनमा कारबाही वा निर्णय गर्नुपर्दा कुन रङ्गको मसी प्रयोग गर्ने भन्ने व्यवस्था हुँदैन । लोकसेवा आयोगले परीक्षार्थीका लागि कालो मसी भएकै कलम प्रयोग गर्न भनेको हुन्छ ।

सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नागरिकता प्रमाणपत्र दिँदा अधिकारप्राप्त अधिकारीहरूले रातो रङ्गको मसी प्रयोग गर्नेगरेको बताए । ‘यो प्रचलन हो, कानुनी व्यवस्था होइन,’ निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।

न्यायिक निकायहरूमा भने प्रायःजसो लिखतमा अधिकारप्राप्त व्यक्तिले अन्तिम आदेश दिँदा रातो रङ्गकै मसी प्रयोग गर्ने गरेका छन् । आन्तरिक लेखापरीक्षण गर्नेहरूले रातो मसी भएका कलम प्रयोग गर्छन् भने महालेखापरीक्षण हुँदा हरियो रङ्गको मसी भएका कलम उपयोगमा ल्याउने अभ्यास छ ।

मधेस प्रदेशका प्रमुख कोष तथा लेखा नियन्त्रक राधेश्याम गिरीले भारतमा सरकारी काककाजका लागि नीलो रङ्गको मसी भएका कलमको प्रयोग हुने गरेको बताए । उनले नेपालमा अधिकृत तहका व्यक्तिहरूले रातो रङ्गका कलम प्रयोग गर्ने बताए । उनले भन्,‘कुन रङ्गको मसी भएका कलम कुनचाहिँ पदाधिकार भएका व्यक्तिले प्रयोग गर्ने कानुनी व्यवस्था भएजस्तो मलाई लाग्दैन तर फरकफरक निकाय र खासखास तहका कर्मचारीले भने थरीथरीका कलम प्रयोग गर्छन् । अफिसर तहमा सबैभन्दा बढी चल्ने भनेको रातो हो ।’

प्रदेशको गृह तथा सञ्चार मन्त्रालयका सचिव महतोले पनि रातो कलम प्रयोग गर्छन् । तर, सरकारी लिखतका लागि गरिने मस्यौदा सच्चयाउन वा तिनमा थप्न उनले रातो कलम चलाउने गरेका छन् । ‘कालो अक्षरको भिडमा रातो रङ्ग भएकका कलमले सच्चयाउँदा सजिलै देखिन्छ भनेर प्रयोग गर्नेगरेको छु ।’ सरकारी अधिकारीहरूले गोजीमा रातो कलम भिर्ने अभ्यासविपरीत महतोको गोजीमा कालो कलममात्र देखिन्छ ।

त्यस्तै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दासले सरकारी कामकाज गर्दा कालो रङ्ग भएका कलम नै प्रयोग गर्छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!