सीताबिना राम अधुरो छ : विमलेन्द्र निधि
जनकपुरधाम, २९ असोज ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि गृहजिल्ला धनुषाका मुख्य शक्तिपीठ राजदेवी मन्दिर, बौेद्धि मन्दिर, अन्नपूर्णादेवी, अमरखानालगायत वरपरका देवीस्थानहरूमा पूजाअराधना गरेका छन् ।
मिथिलाञ्चलका धार्मिक एवम् साँस्कृतिक महत्वका शक्तिपीठहरूमध्ये दुहवी, जटही, डेवडीहा र घोडघासलगायतका ठाउँमा श्रीमती अनामिका निधि र छोराहरूसँगै भगवती दर्शन गरिसकेका निधि आज शुक्रबार धनौजी जाँदैछन् । उनले त्यहाँका देवीस्थलमा पूजाआजा गर्नेछन् ।
शनिबार बिहान निधि जिल्लाको सबैला नगरपालिकास्थित सतोषर पुग्नेछन् । मिथिलाको अत्यन्त पवित्र धाम मानिने सतोषर १५ दिने परिक्रमाको एउटा पडाव पनि हो । यहाँ दशमीको समाप्तिपछि दुर्गाको प्रतिमा सेलाउने कार्य अत्यन्त भव्यतापूर्वक हुन्छ । दुर्गा सेलाउने कार्यमा निधिको सहभागिता रहनेछ ।
आइतबार भने निधि धनुषाधाम पुग्नेछन् । पौराणिक कथाअनुसार राजा जनक दरबारमा रामचन्द्रले भङ्ग गरेको शिवधनुषको तीनमध्ये एउटा टुकडा धनुषाधाममा खसेको थियो । हिन्दु धर्मावलम्बीहरूका लागि यो स्थान निकै महत्वपूर्ण मानिँदै आएको छ ।
जस्तोसुकै प्रतिकूल समयमा स्पस्ट राजनीतिक विचार अभिव्यक्त गर्ने र त्यसअनुरूप अडान लिने नेता निधि अध्यात्म, धर्म र साहित्यका अध्येतासमेत हुन् ।
प्रशोधक डटकमले शुक्रबार उनीसँग धर्म र सँसकृतिमा केन्द्रित भएर कुरा गरे । उनले मिथिलाञ्चलमा दुर्गाकैे रूपमा समेत माता सीता सीताको अराधना हुने गरेको बताए ।
नेता निधिले शक्तिपीठको दर्शनले मनशान्ति हुने तथा आत्मविश्वास बढ्ने बताउँदै राजदेवी माताको पूजाआजापछि मात्र काठमाडौंका देवीस्थलमा पूजाअनुष्ठान सुरु हुनुले पनि यसको विशिष्ठ महत्व रहेको प्रस्ट हुने उल्लेख गरे ।
उनले मिथिलाका धार्मिक तथा साँस्कृतिक महत्वका सम्पदा तथा धरोहरहरूका बारेमा वृहत् अध्ययन एवम् अनुसन्धान नभएकाले समकालीनसँगै नयाँ पुस्तालाई यी कुराका बारेमा जानकारी नभएको भन्दै राजर्षि जनक विश्वविद्यालयका अधिकारीहरूलाई मिथिलाका धर्म, संस्कृति र परम्पराबारे अध्ययनअध्यापन तथा अनुसन्धान अघि बढाउन आफूले आग्रह गरेको बताए । उनले भने, ‘पूर्वी सभ्यता र मिथिला सँस्कृतिका बारेमा अध्ययन गराउन राजर्षि जनक विश्वविद्यालय तयार छ तर त्यसका लागि शिक्षक उपलब्ध छैनन् ।’
निधिका अनुसार उपलब्ध केही शिक्षकबाट अतीतका वैभव र गौरवलाई बुझ्न सभ्यता र सँस्कृति पढाउने र त्यहाँ पढेकाहरूलाई पछि नियुक्त गरी अध्ययन अनुसन्धान अघि बढाउने तयारी भइरहेको जानकारी आफूले पाएको साझा गरे ।
उनले सीताबिना राम अधुरो रहेकाले भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा सीताको प्रतिमा राख्न आफूले भारतीय पक्षसँग आग्रह गरेको बताए । उनले भने विश्व मानचित्रमा जनकपुरको पर्यटकीय महत्व स्थापित गर्न अयोध्याको निर्माणाधीन मन्दिरमा जनकपुरबाट शिवधनुष तयार पारेर जनकपुरवासीका तर्फबाट पठाउने तयारी भइरहेको पनि जानकारी दिए ।
उनले भने, ‘डिजाइन भारतीय पक्षकै हुन्छ । हामी यहाँ त्यसअनुसार माता सीताले लिपपोत गर्दा सजिलै उचाल्नु भएकी र भगवान् रामले भङ्ग गर्नुभएको शिवधनुष तयार गरी अयोध्यालाई हस्तान्तरण गर्नेछौं ।’
नेता निधिसँगको कुराकानी हेर्न तलको लिंकमा जानुस् ।
https://fb.watch/8F3_m7TRxI/
