जनकपुरधाम, १७ कात्तिक ।
नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले आगामी निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्याउने र काँग्रेसको एकल सरकार बन्ने बताएका छन् ।
अहिले सरकार गठबन्धनमा भए पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउने उनको दाबी थियो । नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेसँगै देशका भ्रष्टाचार नियन्त्रण हुने र कोभिडबाट क्षति पुगेका क्षेत्रहरुको पुनर्निर्माण भई देश विकासको मार्गमा अघि बढ्ने बताए ।
सहमहामन्त्री डा।महतले नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने दाबी गरे । उनले भने, “पार्टीको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ, मैले महामन्त्रीमा उम्मेदवारी दिन्छु ।” उनले नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई आजैदेखि निर्वाचनको तयारीमा लाग्न पनि आह्वान गरे । उनले भने, “पार्टीको आसन्न महाधिवेशनको तयारीमा लाग्नुहोस्, महाधिवेशनको तयारी सँगसँगै निर्वाचनको तयारी पनि थाल्नुहोस् ।”
डा।महतले हाल देशको सर्वोच्च अदालतमा देखिएको विवाद अदालत आफैँले समाधन गरोस् भन्ने आफूले चाहेको बताए । उनले भने, “अहिले सर्वोच्च अदालतमा जुन विवाद छ, त्यसले न्याय सम्पादनमा समेत समस्या सिर्जना गरेको छ । यो न्यायालयको विवादको त्यहीँ सर्वोच्चबाटै समाधानको निकास आओस् भन्ने हामी चाहन्छौँ ।”
