अहिलेका


आगामी निर्वाचनमा काँग्रेसलाई निर्वाचित गराउन मेरो उम्मेदवारीः उपसभापति निधि

जनकपुरधाम, ३१ असोज ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसलाई नयाँ अवस्थामा ल्याउन सभापतिमा उम्मेदवारीको घोषणा गरेको बताएका छन् ।

आइतबार धनुषाधाममा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री समेत रहेका उपसभापति निधिले भने, ‘कतिपय साथीले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन आफू सभापति बन्न चाहेको बताइरहनु भएको छ,’ निधिले अघि थप्दै भने, ‘पुरानो होइन कांग्रेसलाई म नयाँ अवस्थामा ल्याउन चाहेको छु। संघीयता र गणतन्त्रको रक्षा गर्नसक्ने कांग्रेस बनाउन चाहेको छु । देशमा कांग्रेसको सरकार बनाउन चाहेकोले सभापति बन्न चाहेको छु ।’

पछिल्लो डेढ साता देखि गृहजिल्ला धनुषामा रहेका उपसभापति निधिले निर्वाचन क्षेत्र नम्बर १ को धनुषाधाममा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ जिताउन आफू कांग्रेसको सभापति बन्न चाहेको स्पष्ट पारे । मधेशमा जितेको बेला देशमा कांग्रेसको सरकार बनेको बताउँदै उनले त्यसका लागि पनि आफू सभापति बन्न चाहेको जिकिर गरे ।

‘मधेशमा नेपाली कांग्रेस लगातार किन हारिरहेको छ ? बिपी देखिको अहिलेसम्मको इतिहास हेर्ने हो भने मधेशमा जितेको बेला देशमा कांग्रेसको सरकार बनेको छ,’ उनले भने, ‘मधेशमा कांग्रेसलाई जिताउन पनि तपाईं सभापति बन्नुपर्छ पहाडका साथीहरूले भन्नु भएको छ । त्यसैले पहिले घरबाट समर्थन पाउन चाहेको छु । सभापतिमा मत दिने वातावरण बनाइदिनुस् ।’

बिपी कोइरालाले २४ वर्षकै उमेरमा आफूलाई नेविसंघको केन्द्रीय सभापति बनाएको स्मरण गर्दै निधिले बिपीको त्यो विश्वासलाई डगमगाउन नदिएको दाबी गरे ।

उनले भने ‘२४ वर्षकै उमेरमा नेविसंघको सभापति बन्ने सौभाग्य बिपीले मलाई दिनुभयो। बिपीको त्यो विश्वासलाई डगमगाउन दिएको छैन, उहाँको सपनालाई कमजोर हुन दिएको छैन ।’

युवा जमातलाई कांग्रेसमा अवसर प्रदान गर्ने र हिमाल, पहाड तथा तराई जोड्न आफ्नो उद्देश्य रहेको उनले बताए ।

कम्युनिस्ट र मधेशवादी दललाई भोट दिएको परिणाम सबैले भोगिरहेको भन्दै आगामी निर्वाचनमा काँग्रेसलाई निर्वाचित गराउनुपर्ने उनले जिकिर गरे ।

उनले काँग्रेसको १४ औँ महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेसंगै गृहजिल्लामा कार्यकर्तासंग भोट समेत मागेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!