अहिलेका


आगामी निर्वाचनमा काँग्रेसले एक्लै चुनाव लड्ने : रामचन्द्र पौडेल

जनकपुरधाम, १४ कार्तिक ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उनले आगामी निर्वाचनमा काँग्रेसले एक्लै चुनाव लड्ने पनि बताए ।

आइतबार जनकपुरधाम बिमानस्थलमा अवतरण गरे लगत्तै सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।पौडेलले भने, ‘हाम्रो पार्टी एक्लै चुनाव लड्ने पार्टी हो । हामी आफ्नो शक्तिमा विश्वास गर्छौ । चुनावका बेला हामीले को–कोलाई साथमा लिन्छौं, को-कोले हामीलाई साथ दिन्छन् त्यतिखेरकोे कुरा अहिले भन्न सकिँदैन ।’
सबैभन्दा अन्तिम आश्रयस्थलका रुपमा रहेको सर्वोच्च अदालतमा गम्भीर विवाद चलिरहेको पौडेलको भनाइ छ ।   ‘हाम्रा लागि अदालत सबैभन्दा अन्तिम आश्रयस्थल हो। तर त्यहीँ अहिले गम्भीर विवाद चलिरहेको छ। नेपाल बार एशोसिएसनले धर्ना  र विरोध गरिहेको छ । न्यायाधीश इजालसमा बसिराख्नुभएको छैन । त्यसैले मुद्दाको सुनुवाइ भइरहेको छैन,’ उनले भने ।
अदालतको समस्या समाधानका लागि अब निर्णय लिने बेला भइसकेको पौडेलले बताए ।  ‘अब अदालतको अवस्थामा दलहरुले के गर्ने ? यसबारेमा गठबन्धन र बाहिर पनि छलफल गर्नुपर्ने अवस्था आएको छ । गठबन्धनमा होस् वा संसदमा होस् । अदालतको यही स्थिति लम्बियो भने बसेर निर्णय गर्नुपर्छ,’ उनले भने,  ‘मैले हाम्रो सभापतिलाई पनि भनिसकेको छु, अहिले सबैले सोच्ने कुरा हो । सरकारसँगै प्रतिपक्षले पनि सोच्ने कुरा हो ।’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका साथै चार न्यायाधीशमाथि पनि कारबाही हुनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको माग गलत भएको पौडेलले बताए  ।  ‘अहिले केपी ओलीजीले ४ जना न्यायाधीशमाथि कारबाही गर्नुपर्छ भनेर बिल्कूल गलत कुरा भनिरहेका छन् । जोमाथि प्रश्न उठेको छ त्यसमा कुरा गर्ने हो । अरुमाथि प्रश्न किन ?,’ पौडेलको प्रश्न छ ।
ओलीले हिजो अदालतमा सेटिङ गरेको भन्दै अहिले त्यो देखिन थालेको उनले बताए । पौडेलले भने,  ‘केपी ओलीले हिजो अदालतमा सेटिङ गरेका थिए । त्यसको गम्भीर संकट र जटिल अवस्था अहिले देखिएको छ ।’


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!