अहिलेका


आज यी कारणले मनाइन्छ जनकपुरधाममा होली

प्रशोधक समाचारदाता / जनकपुरधाम, ५ चैत ।

अनुराग, उल्लास र सद्भावको होली पर्व आज (शनिबार) जनकपुरधाम र वरपरका क्षेत्रमा मनाइँदैछ । तान्त्रिक र ज्योतिष विधिका अनुसार होलिका दहनको भोलिपल्ट रंगोत्सव मनाउने सनातन् अभ्यासका कारण आज यसक्षेत्रमा होली मनाउन लागिएको हो ।

होली मनाउँदै मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव ।

 

तराईका अन्य भूभागमा हिजो(शुक्रबार) र पहाडी भेगमा बिहीबार नै होली मनाइसकिएको छ ।

सँस्कृतिविद् एवम् मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाका अनुसार होलिका दहनमार्फत आसुरी शक्तिमाथि विजय प्राप्त गरेपछि उल्लास विनिमय गर्ने परम्पराअनुसार जनकपुरधामसहितका क्षेत्रमा शनिबार होली मनाइँदैछ ।

ज्योतिषशास्त्रका अनुसार होलिका दहनको साइत बिहीबार मध्यरातिबाट शुक्रबार बिहानसम्म नै रहेकाले त्यसको भोलिपल्ट अर्थात् आज होली मानिँदैछ ।

मिथिलाञ्चलको प्रसिद्ध १५ दिने परिक्रमाको सातौं पडाव कञ्चनवनबाट होली महोत्सव सुरु भएपछि यसक्षेत्रमा फागु पूर्णिमासम्म नै होली मनाइन्छ । केही दशकअघिसम्म श्रीपञ्चमीबाटै होली सुरु भएर फागु पूर्णिमाका दिन सम्पन्न हुने गरेको थियो । ‘तर, गैरकृषि क्षेत्रमा स्थानीयको संलग्नता बढ्दै गएपछि व्यस्तताका कारण होली समापन हुने अन्तिम दिनमा यो बहुदिवसीय पर्व समेटिन पुगेको छ,’ स्थानीय सुन्दर सदनका महन्थ नवलकिशोर शरणले बताए ।

जाडोयामको समाप्ति र वसन्त ऋतुसमेतको बिदाइ गर्ने बेलामा किसानहरूसँग गर्नुपर्ने कृषिकार्य खासै नरहने हुँदा यस समयमा सहअस्तित्व, सहकार्य र सहकारिताको भावना प्रबल पार्न र सामूहिक साँस्कृतिक जीवनशैलीको प्रकटीकरणका लागि समेत होली पर्वलाई महत्वपूर्ण मानिन्छ ।

जनकपुरधाममा सहरको प्रदक्षिणा गरिने पञ्चकोसी(अन्तःगृह) परिक्रमाको भोलिपल्ट होली मनाइने परम्परा छ । अन्तःगृह परिक्रमा शुक्रबार सम्पन्न भएको छ । परिक्रमामा १५ दिने मध्यमाध्यमिकी परिक्रमावासीका अतिरिक्त जनकपुरक्षेत्रका हजारौं गृहस्थ सहभागी भए ।

पछिल्ला दिनमा जबर्जस्ती रंगअबिर दल्ने र मादकपदार्थ सेवन गर्नेजस्ता विकृति देखिए पनि अन्य ठाउँभन्दा बढी मर्यादित मिथिलको होलीलाई मानिन्छ । रंगअबिर खेलेर एकअर्कासँग रहेका कटुता, वैरभाव र इष्र्याद्वेषलाई आसुरी प्रवृत्तिका रूपमा लिई तिनलाई दहन गरी मित्रवत् अघि बढ्न समेत यो पर्वले सन्देश दिनेगर्छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!