जनकपुरधाम, २५ कात्तिक ।
अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय सचिव तथा प्रदेश २ इन्चार्ज सूर्यनारायण साहले पेट्रोलियम पदार्थको अवैज्ञानिक, अस्वाभाविक र अव्यवहारिक मूल्य समायोजनले गर्दा सर्वसाधारण जनतालाई हरेक क्षेत्रमा मूल्यवृद्धिको मारमा पर्नुृपरेको हुँदा नेपाल आयल निगमले तत्काल मूल्यवृद्धि फिर्ता गरी समायोजनका उचित मापदण्ड पालना गर्नुपर्ने बताएका छन् ।
उनले सबैखाले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरी निगमले जनताको सहनशीलता परीक्षण गर्नु अनुचित र खेदजन्य कार्य भएको ठहर गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्दै घटाउनका लागि चुहावटसँगै निगममा विद्यमान अनियमिमता र भ्रष्टाचार रोक्न कडा उपाय अवलम्बन गर्नुृपर्ने उल्लेख गरे ।

बिहीबार प्रशोधक डटकमसँग कुरा गर्दै उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट जीविकोपार्जनका अन्य क्षेत्रमा समेत महँगीको भार थपिने र यसले जनजीवनलाई असहज बनाउने विगतलाई मूल्यांकन गर्दै सरकारले समेत अन्तर्राष्ट्रिय बजारमा भाउ घटबढ हुँदा मूल्यवृद्धि हुन नदिन सचेत हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा सञ्चित इन्धनको प्रयोगबाट आवधिक रूपमा मूल्यमा स्थिरता ल्याउन सकिन्छ । यसका अतिरिक्त इन्धन आयात र बिक्रीवितरणमा करछुट जस्ता उपाय अपनाउन सकिन्छ ।’
अखिल क्रान्तिकारीका नेता साहले संकटका बेला पेट्रोलियम पदार्थको भण्डारणबारे सोचिए पनि सहजता आउनासाथ सरकारहरू त्यस विषयमा गम्भीर नहुने हुँदा देशको डलर सञ्चितिसमेतमा कमी आइरहेको गुनासो गरे । ‘कम दरका सामान बढीमा आपूर्ति गर्दा डलर सञ्चितिमा कमी आउँछ नै, त्यसैले अब पेट्रोलियम पदार्थको सञ्चिति बढाउनेतिर लाग्नुपर्छ,’ उनको भनाइ थियो ।
उनले पेट्रोलियम पदार्थमा अहिले भएको मूल्यवृद्धि नघटाइए विद्यार्थी संगठनहरू कडा संघर्षमा ओर्लने चेतावनी दिए ।
