काठमाडौं, २५ कात्तिक ।
उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गैरसंवैधानिक र अव्यवहारिक भएको भन्दै कांग्रेस, सत्ता गठबन्धन र विपक्षी दलका नेताहरूले विरोध गरिरहेका बेला काँग्रेस उपसभापति विमलेन्द्र निधिले समेत समिति गठनका विषयमा असन्तुष्टि जनाएका छन् ।
निधिले बिहीबार प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा सत्ता गठबन्धनमा बनेको उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गलत निर्णय भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
देउवाले बिहीबार पार्टीको आसन्न महाधिवेशनका विषयमा छलफल गर्न आफूपक्षीय पदाधिकारी र सदस्यहरूलाई छलफलका लागि बालुवाटार बोलाएका थिए ।
निधिका प्रेस सल्लाहकार रामजी दाहाललाई उदृत गर्दै कान्तिपुरमा प्रकाशित समाचारअनुसार निधिले देउवासँगको भेटमा समन्वय समिति गठन कम्युनिस्ट पार्टीको पोलिटब्युरोजस्तै भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
निधिले समिति आगामी निर्वाचनसम्म हो भने झन् हानिकारक हुने बताएका थिए ।
सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावअनुसार गत सोमबार ११ सदस्यीय ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ गठन गरेको छ । पाँच राजनीतिक दलबाट २–२ जना र सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य समितिको सदस्य छन् ।
हरेक दलले २–२ महिना समितिको नेतृत्व गर्ने दलहरुबीच सहमति छ । तत्काललाई भने समितिको संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।
