अहिलेका


एकल जातीय र वर्गीय चिन्तनविरुद्ध संघर्ष आवश्यक : शरतसिँह भण्डारी

लोसपा गठनका कारण लोकतान्त्रिक र साम्यवादी चिन्तनबीचको भिन्नता

 

जनकपुरधाम, १० असोज ।

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत्सिँह भण्डारीले जनता समाजवादी पार्टीभित्र साम्यवादी सोच, विचार र कार्यपद्धति भएकाहरूसँग तारतम्य नमिलेर लोकतान्त्रिक विचारधारा भएकाहरू अलग्गिएको बताएका छन् । उनले लोसपा नेपाल लोकतान्त्रिक राजनीति विचार र समावेशी लोकतन्त्र पक्षधरहरूको पार्टी भएको दाबी पनि गरे ।

लोसपा नेपालको प्रदेशसभा २ का संसदीय दलका नेता छनोट गर्ने बैठकमा सहभागी हुन सोमबार जनकपुरधाम आउने भएका वरिष्ठ नेता भण्डारीले प्रशोधक डटकमसँग कुरा गर्दै ती कुरा बताएका हुन् ।

उनले जसपा नेपालमा दुई फरक विचार र कार्यशैलीका व्यक्तिहरूबीच भेडा–भेडा र बाख्रा–बाख्राको स्थिति उत्पन्न भएपछि आफूहरू अलग्गिएर लोसपा नेपाल गठन गरेको बताए । उनले भने,‘जसपा नेपालमा पार्टीको स्वरूप ग्रहण नगर्दै वैचारिक मतभिन्नता भएकै हो । त्यो भिन्नता भनेको लोकतान्त्रिक विधि र प्रक्रिया तथा आग्रह पूर्वाग्रहमा आधारित साम्यवादी विचार र पद्धतिबीचको थियो ।’

राज्यको चरित्र नै कठोर र दमनकारी स्वभावको हुने भएकाले आफूहरू आफ्ना माग र मुद्दा सम्बोधन गराउन राज्यसँग संघर्ष, संवाद र सहकार्य गर्न तयार भएको प्रस्ट पार्दै वरिष्ठ नेता भण्डारीले आफूहरूका लागि केपी ओली, शेरबहादुर देउवा वा जोसुकै भए पनि एउटै भएको बताए । उनले भने,‘दुई वर्ष सरकारमा बस्ने अनि केही कुरामा मतभिन्नता हुनेबित्तिकै फलानोसँग कुरा गर्दै गर्दिनँ भन्नु साम्यवादी आग्रह हो ।’

केपी ओली सरकारमा रहँदा कैदीबन्दी छुट्नु र संविधान संशोधनका विषयमा भएका सहमति उपलब्धिपूर्ण भएको चर्चा गर्दै उनले माग र मुद्दा सम्बोधन र व्यवस्थापन गराउन लोसपाले राज्यसञ्चालकसँग संवादको बाटो अपनाइरहने जानकारी दिए ।

समयको आवश्यकता र घटनाक्रमका कारण आन्दोलनरत्त शक्तिहरूबीचमा विगतमा एकता र सहकार्य हुँदै पार्टी एकीकरणको चरणसम्म आइपुगेको र त्यसको उपलब्धिकै रूपमा मधेस सरकार बनेको र केन्द्रीय राजनीतिमा पहिचान पक्षधरहरू मजबुत शक्ति बनेको बताउँदै भण्डारीले मधेसी, आदिवासी, जनजाति, मुस्लिम, महिला आदि सबै सम्मिलित बलियो शक्ति बनाउने अभियान वैचारिक भिन्नताकै कारण रोकिएको औंल्याए ।

समावेशिताको र उत्पीडनविरुद्ध आवाज उठाउने पार्टी आफैं समावेशी र उत्पीडनविहीन हुनुपर्ने भन्दै वरिष्ठ नेता भण्डारीले मधेस र मधेसी पहिचानका लागि लडिरहेका बेला मधेसभित्र केही जात र वर्गको चिन्तन बढिरहेकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘अब हामीले एकल जातीय र एकल वर्गीय चिन्तनविरुद्ध संघर्ष गर्नुपर्छ ।’

उनले लोसपालाई सबैका पार्टी बनाउने गरी संगठन विस्तार र सुदृढीकरण गर्ने पनि बताए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!