जनकपुरधाम, २८ कात्तिक ।
नेकपा एमालेले ४३ जिल्लामा महाधिवेशन प्रतिनिधि सर्वसम्मतरुपमा चयन गरेका छन् ।
बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया भने अझैसम्म सकिएको छैन ।
शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची रहेको थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनले भने, ‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको छ, अरुतिर चयन हुन बाँकी छ ।’
अझै पनि कतिपय जिल्लामा प्रतिनिधि चयन गर्ने प्रयास जारी रहेको उनले बताए । निर्विरोध हुन नसकेका जिल्लाहरुमा चुनावको प्रक्रिया अगाडि बढाइएको छ । निर्वाचनको माध्यमबाट प्रतिनिधि चयन भएको विवरण आउन भने बाँकी रहेको पनि उनले बताए ।
१० देखि १२ मंसिरमा हुने १०औं राष्ट्रिय महाधिवेशनका लागि एमालेले एक हजार ९ सय ९९ प्रतिनिधि चयन गर्दैछन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश, जनसंगठन, विभाग, केन्द्रीय कार्यालय, प्रवास लगायतलाई क्लस्टर बनाएर नेकपा एमालेले प्रतिनिधि चयन गरिरहेको जनाइएको छ ।
