जनकपुरधाम, १७ कात्तिक ।
नेकपा एमालेको दशौं महाधिवेशनमा विदेशी पाहुनाहरूलाई सहभागी बनाउन पत्राचार गरेको एमालेले जनाएको छ । महाधिवेशनमा अन्य पार्टीका नेताहरुलाई पनि एमालेले निम्तो पठाउने भएको छ । तर एमालेबाटै छुट्टिएका माधव नेपाललाई भने निम्तो नदिने भएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा देशभित्रका राजनीतिक दल तथा विभिन्न मुलुकका पार्टी नेताहरुलाई निम्तो गर्ने जानकारी दिए । तर सञ्चारकर्मीले सोधेको प्रश्नमा नेता भट्टराईले माधव नेपाललाई भने निम्तो नदिने प्रस्ट पारे ।
‘नेकपा ९एमाले०सँग भाइचारा सम्बन्ध रहेका विभिन्न मुलुकका पार्टीहरू, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरू, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरु तथा आइक्याप ९आईसीएपीपी० का स्थायी कमिटीका सदस्यहरुलाई निमन्त्रणा गरिएको छ’, पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, ‘निमन्त्रणा गरिएका पार्टीहरूबाट सकारात्मक सन्देश प्राप्त भएको पनि जानकारी गराउन चाहन्छौं । यस्तै नेपालका प्रमुख राजनीतिक दलहरूलाई पनि निमन्त्रणा गरिनेछ ।’
एमालेले वर्तमान सरकार गठन भएपश्चात् संवैधानिक व्यवस्था झन् कमजोर हुँदै गएको जनाएको छ । ‘संघीय संसदलाई सरकारको लाचार छायाँ बनाइएको छ । संवैधानिक निकायहरूलाई कमजोर र अस्तव्यस्त बनाइएको छ । नेकपा ९एमाले० नेतृत्वको सरकारले गरेका विकास निर्माण र जनपक्षीय कामहरूलाई उल्ट्याएर विनियोजित बजेट कटौती गरिएको छ’, एमालेको भनाइ छ ।
