काठमाडौं, १४ मंसिर ।
चितवनको सौराहामा जारी नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनक्रममा मतगणना सुरु भएको छ । दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिए पनि केही ढिला भएको हो ।
मंगलबार बिहान ११ बजे निर्वाचनको मतदान सकिएपछि मतगणना सुरु भएको हो । अबको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक भइसक्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको छ ।
एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो । निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको छ ।
महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।
