अपरेसन कक्षमा जाँदै गर्दा मुस्कानले भनिन्,‘धेरै काम गर्नुछ । मेरो लागि दुआ गर्नुस् ।’
जनकपुरधाम, ११ कात्तिक ।
एसिड आक्रमणमा परी घाइते भएकी मुस्कान खातुनको आज बिहीबार तेस्रोपटक शल्यक्रिया हुँदैछ । कीर्तिपुरस्थित अस्पतालमा खातुनको श्लयक्रिया डा.शंकारमान राई नेतृत्वको टोलीले गर्दैछ ।
मुस्कानका पिता रफुल अन्सारीका अनुसार एसिडले जलेका मुस्कानका घाँटी तलका भाग, कानछेउका भाग र गालामा कस्मेटिक सर्जरी अहिले भइरहेको छ । कान र छातीका शल्यक्रिया भने जोखिमपूर्ण भएकाले अहिले गरिने छैनन् ।
शल्यक्रियामा डेढदेखि दुई घन्टासम्म लाग्ने जानकारी चिकित्सकहरूले दिएका छन् । प्रदेश २ को पर्सा जिल्ला निवासी मुस्कानमाथि गत २०७६ भदौ २० गते वीरगञ्जमा विद्यालय गइरहँदा वीरगञ्ज महानगरपालिका २ छपकैयाका सम्साद मियाँले एसिड आक्रमण गरेका थिए ।
शल्यक्रिया कक्षमा जानुअघि मुस्कानले प्रशोधक डटकमसँग भनिन्, ‘अंकल, अहिले मलाई धेरै काम गर्नुछ । मेरो लागि दुआ गर्नुस् ।’
एसिड आक्रमणमा परी मुस्कानको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो । निकै नाजुक स्वास्थ्यअवस्थाबाट गुज्रिएर जीवन प्राप्त गरेकी उनी अहिले एसिड आक्रमणविरुद्ध अभियानमा संलग्न छिन् ।
अदालतले एसिड आक्रमण गर्ने सम्साद र एसिड आक्रमण गर्न अह्राउने मजिद मियाँलाई सजाय तोकिसकेको छ ।
आक्रमणका बेला कक्षा नौकी विद्यार्थी रहेकी मुस्कानलाई दुवै अपराधीले मोटरसाइकलबाट पछ्याउँदै सहरको गणेशमानचोकनजिक एसिड छ्यापेका थिए । एसिड आक्रमणमा घाइते मुस्कानको उपचार यसअघि कीर्तिपुर अस्पतालमै भएको थियो ।
तेजाब आक्रमण अन्त्यतर्फ लक्षित मुस्कानका कामका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला(आइडब्ल्यूसी) पुरस्कार प्राप्त गरेकी छिन् ।
प्रदेश २ सरकारले केही दिनअघि मात्र मुस्कानको थप उपचारका लागि पाँच लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
