चितवन, मंसिर १४ ।
एमालेको दसौं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का प्रत्याशी भीम रावललाई पराजित गर्दै उनी महाधिवेशनक्रममा मंगलबार भएको मतदानबाट बहुमतले विजयी भएका हुन् । ओलीको अध्यक्षका रूपमा यो दोस्रो कार्यकाल हो ।
ओलीले १८३७ मत ल्याएका छन् । रावलले २२३ मत पाएका छन् ।
२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए । एमाले र माओवादी केन्द्रको एकता गत वर्ष फागुनमा अदालतको आदेशका कारण भंग भएपछि एमालेले १०औं महाधिवेशन गरेको हो ।
