अहिलेका


ओलीले यसरी भताभुङ्ग पारे वृहत् वामपन्थी सपना

गत वर्ष हठात् केपी शर्मा ओलीले अपार जनादेशको अनादर गर्दै प्रतिनिधिसभा बिघटन गरे । नेपालको राजनितिक र संसदीय इतिहासमा पहिलोपटक कम्युनिस्ट पार्टी दुईतिहाइ नजिक पुगेको थियो । ओलीले चाहेका भए यो अवसरलाई नेपालमा वामपन्थ स्थापित गर्न सबल तथा सुदृढ बनाउन मज्जाले उपयोग गर्न सक्थे । तर, उनले समृद्धिको आलोकाँचो एवम् सतही सपना देखाएर नेपाली जनताको भावना र चाहनामाथि कुठाराघात गर्दै समग्र वामपन्थी शक्तिमाथि विश्वासको संकट मडारिदिए । पार्टी र देशलाई अनपेक्षित लज्जाबोधको अवस्थामा ल्याएर छाडिदिए ।

उदय बरबरिया, प्रमुख, सहिदनगर नगरपालिका

नेपालमा पछिल्लो संविधान जारी भएपश्चात् उक्त संविधान कार्यान्वयन गर्नका लागि नेपाली राजनीतिलाई एउटा नयाँ दिशा दिएर इतिहास रच्न सफल कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ ले नेपालमा खण्डित रहेर बसेका वामपन्थी राजनीतिक शक्तिहरूलाई एकठाउँमा उभ्याउनुभयो । प्रचण्डलगायत अन्य मूर्धन्य नेताहरूको पहलकदमी पनि सार्थक तथा सफलीभूत भइरहेको थियो । ती पहलको अन्त्र्य र उद्देश्य भनेको कम्युनिस्ट शक्ति एक भई चुनावमा जाने हो भने यसले देशको नेतृत्व गर्न सक्छ भन्ने थियो ।

त्यसअनुरूप २०७४ को चुनावमा एमाले र माओवादी एकढिक्का भई स्थिर सरकारको नारा दिएर अघि बढ्दा नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई झन्डै दुईतिहाइको सरकार बनाउन आफ्ना अमूल्य मत दिए । एकीकृत भएका दुवै दलका अग्रज नेताहरूका सहमतिमा कुनै पनि सर्त नतेर्साइकन केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाइयो ।

प्रचण्ड बहुमत रापतापले होला, समय बित्दै जाँदा प्रधानमन्त्री अलोकतान्त्रिक, निरंकुश र असहिष्णु हुँदै गए । उनका वरपर दलाल पुँजीपतिहरूको घेरा लाग्न सुरु भयो । संघीयतासहितको संविधानलाई कार्यान्वयन गर्न बनाइएको संविधानको मर्मविपरीत ओलीले संघीयतालाई कमजोर पार्ने हरेक सम्भव प्रयास गर्दै गएका थिए । उनले प्रदेशहरूलाई संघको फगत एकाइ भनेर हेप्न थाले । प्रदेशहरूलाई चलायमान बनाउन र संघीयता स्थापित गर्न चाहिने आवश्यक कानुन निर्माणमा ढिलाइ गरी संघीयता कार्यान्वयनमा बाधा पुर्याउँदै गए ।

अहिले जसरी प्रतिक्रियावादी शक्तिहरू खासगरी ओली प्रवृत्तिका मतियारहरूले देश डुबाउने टेन्डर हात पारेका छन् तीे अत्यधिक खतरनाक छन् । महाकाली बेच्ने बेला राष्ट्रवादको सुधि हराएका ओली अहिले बिनापरिमार्जन एमसीसी गर्न लागेका छन् । यसले देशलाई अनिश्चितताको कालो सुरुङ्गमा धकेल्ने छ ।

ओलीका अलोकतान्त्रिक र प्रतिगमनकारी व्यवहारको विरोध पार्टीभित्र हुन लाग्दा उनले आफ्नै पार्टीभित्रबाट इतर विचार राख्ने जोकोहीलाई पनि शत्रुतापूर्ण व्यवहार गर्न थाले । ओली प्रधानमन्त्री रहेका बेला देशमा भ्रष्टाचारलगायत अन्य अपराधका घटनाको संख्या बढ्न थाल्यो । पार्टीभित्र कमरेड प्रचण्ड, माधव नेपालजस्ता अग्रणी नेताहरूले केपीलाई जबाफदेही बनाउन पार्टीभित्र आवाज उठाउँदा ओली तानाशाह भएर प्रस्तुत हुन थाले ।

ओलीको तानाशाही प्रवृत्ति तब मात्र आमजनमा उजागर भयो जतिबेला उनले जनताको अभिमतमा आधारित सार्वभौम संसदलाई अचाक्ली विघटन गरे । शक्ति र सत्ताबाट उन्मत भएर संवैधानिक प्रावधान र सामान्य राजनीतिक नैतिकता विरपरीत ओलीले संसद् विघटन गरे पनि शक्ति सन्तुलन र पृथकीकरणको असल अभ्यास नै भनौं त्यसलाई सर्वोच्च अदालतले उल्टाइदियो ।

जालझेल र ‘सेटिङ्ग’का आधारमा देश र पार्टी चलाउने महत्वांकांक्षा पालेका ओलीका कारण विगतका आवश्यकताका आधारमा एकीकृत भएका वामपंथी शक्ति भताभुंग भयो । ओली हठका कारण कम्युनिस्ट शक्तिलाई सत्तामा पुर्याएर देशमा स्थिर सरकार खोजेको आम नेपालीको सपना र आकांक्षा तत्कालका लागि तेजोबध भएको छ । न्यायालयले प्रतिगमन शिरोमणी ओलीलाई प्रधानमन्त्री पदबाट रोक लगाए पश्चात् अहिले देशमा ओली प्रवृत्तिविरुद्ध लडेका शक्तिहरू अर्थात् गठबन्धनको सरकार छ । तर प्रतिपक्षमा रहेका नेकपा एमाले अर्थात केपी ओलीले संसद चल्नमा बाधाअड्चन गर्ने प्रायः निश्चित छ । जसको बान्की यसअघि पनि संसदमा एमालेको उपद्रवी प्रस्तुतिले दिएको छ ।

कस्तो विडम्बनापूर्ण अवस्था छ । नेपाली जनताले यहाँका कम्युनिस्टहरू एकजुट भएर चुनावमा होमिँदा पछिल्लो निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत दिएर कम्युनिस्टको बलियो सरकार बनाई एतिहासिक भूमिका खेल्ने अवसर दिए । यसले के प्रमाणित हुन्छ भने देशमा ठूलो सँख्यामा कम्युनिस्ट सिद्धान्त र विचारलाई अनुकरण गर्ने जनता छन् । उनीहरूले देशमा कम्युनिस्टको बलियो र दिगो सरकार बनेको हेर्न चाहेका छन् ।

केपी ओलीमा अहंकार र फाँसीवादी प्रवृति हावी नभएको भए आज ती जनताको बहुमूल्य मतको अपमान र अवमूल्यन हुँदैन्थ्यो । ओलीले पार्टीका विचार र वाम एकताको मर्मलाई कुल्चेर संसद विघटन नगरेका भए नेपालमा कम्युनिस्ट शक्तिलाई कसले तितरबितर पार्न सक्दैन्थ्यो ।

जसका लागि उनीहरूले आफ्ना अमूल्य मत पनि दिए । दलीय संकीर्णताभन्दा माथि उठेर सोचौं कि केपी ओलीमा अहंकार र फाँसीवादी प्रवृति हावी नभएको भए आज ती जनताको बहुमूल्य मतको अपमान र अवमूल्यन हुँदैन्थ्यो । ओलीले पार्टीका विचार र वाम एकताको मर्मलाई कुल्चेर संसद विघटन नगरेका भए नेपालमा कम्युनिस्ट शक्तिलाई कसले तितरबितर पार्र्न सक्दैन्थ्यो ।

नेपाली जनताले केपीको वास्तविक चरित्र देखिसकेका छन् । त्यसैले उनले कम्युनिस्टको माला जप्नु भनेको बगमफुस कुरा हो । कमरेड प्रचण्डले घोर दक्षिणपन्थी एमालेलाई सुधार गर्दै एकढिक्का बनाई अगाडि बढ्ने हो भने नेपालमा वामपन्थीको शक्तिशाली र निर्णायक सरकार बन्छ भन्ने आसामा रातदिन मिहिनेत गर्नुभएको थियो । तर, एमालेमा ओली प्रवृत्तिले उग्रदक्षिणपन्थीको जरा उखेल्न मानेनन् ।

नेपालको सन्दर्भमा, नेपाल कम्युनिस्ट पार्टीको स्थापना सन् १९४९ मा भयो थियो । सन् १९५१ मा उक्त पार्टीको प्रथम महाधिवेशनले जनवादी क्रान्तिको लाइन पारित गरेको थियो । तर दोस्रो र तेस्रो महाधिवेशनले संशोधनवादी लाइन समातेपछि पार्टी विभिन्न गुटमा विभाजित भएका थिए । विस्तारै उक्त पार्टीले महाकाली सन्धिजस्ता कैंयन राष्ट्रघाती सम्झौताहरू गरी देशलाई भडखालोमा धकेल्न हरेक सम्भव प्रयास गर्दै गयो र उग्रवामपन्थको लाइनमा पार्टीलाई हाँक्दै गयो । पछिल्लो समय केपी ओलीका हरेक कदम उग्रवामपन्थका नमुना छन् ।

यसरी लेखिरहँदा माओवादी आन्दोलनले नेपालको कायापलट गर्यो भन्ने मेरो दाबी होइन । यद्यपि व्यवस्था परिवर्तको लाइनमा सन् १९९६ मा सुरु भएको माओवादी विद्रोहले वर्षौंदेखिको राजतन्त्रलाई मात्र फालेन अपितु देशभित्र उत्पीडनमा पारिएका हरेक वर्गका जनताका हितमा हुने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संविधानसभाबाट पारित गरायो । संघीयताको सपनाकार माओवादी आन्दोलनको यात्रामा पनि धेरै उतारचढाव नआएको होइन । तर, प्रगितिशिल माओवादीले नेपाली जनताभित्र कम्युनिस्टप्रतिको चाहना र भरोसालाई मध्यनजर गर्दै प्रगतिशिलताको बाटो कहिल्यै छाडेन्न् ।

माओवादी जहिले पनि सम्पूर्ण वामपंथी एक हुनुपर्छ भनी लागिरहे । अहिले पनि माओवादीले अग्रगमन नै रोजेको छ । माओवादी आन्दोलनका जननायक प्रचण्ड अहिले पनि देशमा प्रगतिशील वामपंथीहरू एकढिक्का हुनुपर्छ भन्ने दिशामै आफ्नो ऊर्जा लगाई रहनुभएको छ । विभिन्न कारणवश माओवादीबाट अगलथलग भएका आफ्ना साथीहरूलाई एकजुट हुन भित्री मनले अपिल गरिरहनुभएकै छ । ओली प्रवृत्तिले पछिल्लो समय आमजनमा वामपंथीप्रति बढाएको वितृष्णाको निर्मलीकरण गर्न लागिपर्नुभएको छ । माओवादीको वैचारिक आधारमा कायम रही फेरि पनि प्रतिक्रियावादीहरूलाई कसरी जबाफ दिने हो त्यता अग्रसर भइरहनु भएको कसैबाट लुकेको छैन ।

अहिले जसरी प्रतिक्रियावादी शक्तिहरू खासगरी ओली प्रवृत्तिका मतियारहरूले देश डुबाउने टेन्डर हात पारेका छन् तीे अत्यधिक खतरनाक छन् । महाकाली बेच्ने बेला राष्ट्रवादको सुधि हराएका ओली अहिले बिनापरिमार्जन एमसीसी गर्न लागेका छन् । यसले देशलाई अनिश्चितताको कालो सुरुङ्गमा धकेल्ने छ । संसद भंगका खलनायक ओली अहिले संसद छल्न तमासा गरिरहेका छन् । यस्तो प्रतिकूलताका माझ वर्तमान सत्ता गठबन्धन पनि हरेक पाइला चल्दा ध्यानपूर्वक चाल्नुपर्ने हुन्छ । देशका हरेक नागरिक सचेत रहनु आवश्यक छ । कम्युनिस्ट बिचारधारामा विश्वास गर्ने हरेक युवाले प्रतिक्रियावादी शक्तिहरूलाई मुँहतोड जबाफ दिन तम्तयार रहनुपर्ने आवश्यकता छ ।

(लेखक युवा वामपन्थी चिन्तक र धनुषाको सहिदनगरपालिकाका मेयर हुन्)


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!