विराटनगर, १३ कात्तिक ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनमा कुनै छलफल नभएको बताएका छन् । उनले यससम्बन्धी समाचारहरू भ्रामक रहेको प्रस्ट्याए ।
शनिबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले न्यायपालिका स्वतन्त्र निकाय भएकाले त्यहाँ देखिएका समस्याका बारेमा छलफल गरेर समाधान गर्ने उल्लेख गरे ।
प्रतिनिधिसभा पुनस्र्थापनाका लागि निर्णय गर्ने पाँचैजना न्यायाधीशलाई राजीनामा दिनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ९ गते दिएको अभिव्यक्तिबाट न्यायपालिकाको स्वतन्त्र निर्णय दिने अधिकारमाथि प्रहार भएको अध्यक्ष नेपालले ठहर गरे ।
उनले केपी ओलीले जथाभावी बोल्दै हिँडिरहेको आरोप लगाउँदै ओलीको तानाशाही प्रवृत्तिका विरुद्धमा बोल्नेलाई उनले खप्न नसक्ने बताए ।
प्रतिनिधिसभा पुनस्र्थापनाका लागि दुईवटै समयमा न्यायालयले गरेको ऐतिहासिक निर्णयविरुद्धमा रिस पोख्न र समस्या खडा गर्नका लागि पाँचैजना न्यायाधीशले राजीनामा दिनुपर्ने ओलीको अभिव्यक्ति अस्वीकार्य भएको उनको कथन छ ।
अध्यक्ष नेपालले प्रदेश १ सरकारको नेतृत्वका बारेमा कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा कार्यकाल बाँड्नेबारे कुनै छलफल नभएको बताए ।
