प्रशोधक डेस्क
जनकपुरधाम, ४ मंसिर ।
खेतीकिसानीबाट जीविकोपार्जन र बालबच्चालाई शिक्षादीक्षा दिन एउटा परिवार धनुषाको नकटाझिजबाट बसाइँ नै सर्यो । संयुक्त परिवारको विघटनपछि जागिरे दाजुभाइसँगको आयस्रोतमा अलगाव, टुक्रिएको जग्गा, भूमिगत पानीसतह घट्दै जाँदा सिँचाइको असुविधाजस्ता कारणले नकटाझिजको महतो परिवार गत २०४७ सालमा सर्लाही पुग्यो ।
गाउँकै विद्यालयमा दुई कक्षामा पढ्थे रामकुमार महतो । जतिबेला आफ्ना लालाबाला लिएर नकटाझिज छाडेका थिए उनका अभिभावक । दैवको खेल न हो । सर्लाहीको एक गाउँमा ओत लाग्ने छानो र अलिकता जमिन जोरजाम गरेर घरगुजारा गरिरहेका महतो परिवारलाई ०५० सालमा आएको वागमतीको बाढीले विस्थापित बनायो ।
पहिला नै थातथलो छाड्नुपरेको पीडासँगै अन्नपात उब्जनीबाट राम्रै कमाइ हुन थालेका बेला महतो परिवार सर्लाहीकै अर्को ठाउँमा जीवन जोहो गर्न पुग्यो । उठीवासको सन्ताप खप्नुपरेका बेला महतो परिवारका कान्छो छोरा रामकुमार गौरीशंकरस्थित विद्यालयमा छसम्म पढेपछि दाजुभाइसँगै निमावि हरकटवामा कक्षा सातमा पढिरहेका थिए ।
त्यसपछि बसाइँ सरेसँगै उनी श्रीनगर माविमा कक्षा ७ र ८ पढे । त्यसपछि उनी लालबन्दीको जनज्योति माविमा कक्षा नौ र दसको पढाइ सकाए । कक्षा दससम्म पाँचवटा विद्यालय परिवर्तन गर्नुपरेका रामकुमार एउटा अर्को संघर्षका लागि जनकपुर जाँदै थिए कलेज अध्ययन गर्न ।
त्यतिञ्जेल उनका दाजु लोकसेवा आयोग उतीर्ण गरी हुलाकमा मुखिया भइसकेका थिए । उनका बाबुले रामकुमारका लागि पनि जागिर लगाइदिन कम्ती भनसुन नगरेका होइनन् । ठूलाबडाका आशीर्वाद र प्रभावले जागिर पाइने ५० को दशकमा रामकुमारलाई वनपालेमा भर्ती गराउन उनका बाबुले चिनजानका सबै नेताका घरदैलौमा धाए । तर, परिणाम भने शून्य नै रह्यो । रामकुमार रोजगार बन्न सकेनन् ।
०५४ सालमा एसएलसी सकेका रामकुमार जनकपुरस्थित राराब क्याम्पसमा भर्ना भए । तर, दाजुसँगको उठबसमा उनलाई भने लोकसेवा आयोगको परीक्षा उतीर्ण गर्ने रहर पलाइसकेको थियो । कलेजका लामा र दिक्कलाग्दा पढाइभन्दा पनि कोठाभित्र थुनिएर लोकसेवा आयोग उतीर्ण गर्न गोरखापत्र, अन्तर्राष्ट्रिय मञ्चलगायतका जनकपुरमा उपलब्ध सीमित स्रोतको उपयोग गर्न थाले उनी ।
लोकसेवा आयोग उतीर्ण गर्नु भनेको सामान्य प्रतिस्पर्धा गरेर सम्भव नभएको र यसमा उत्कृष्टमध्ये सर्वोत्कृष्ट बन्नुपर्ने थाहा पाइसकेका रामकुमार पर्याप्त किताबको अभाव र कोचिंग सुविधाको अनुपलब्धताका बाबजुद रातदिन तयारीमा लागे ।
लोकसेवा आयोग उतीर्ण गर्न दाजुले पढेका किताब उनका लागि सहायक सिद्ध भए । उनले कहिल्यै नछुटाइ बिबिसी रिपोर्ट सुन्थे र टिप्थे । दस–एघार ब्यान्डको सानो रेडियोमा ।
०५६ सालमा बजेट भाषण भयो । सरकारले कर्मचारीहरूको तलब हवात्तै वृद्धि गरेको थियो । तीनदेखि पाँच हजार रुपैयाँमा पानी लाग्ने खेत एक कठ्ठा किन्न सकिने त्यो समयमा कार्यालय सहयोगीको तलब मासिक तीन हजार रुपैयाँ भयो ।
जनकपुरमा दुई सय पचास रुपैयाँ घरभाडा र अन्य खर्च गरी मासिक बाह्र सय रुपैयाँ घरबाट आएपछि मात्र जनकपुरमा लेखपढ गर्न सक्ने रामकुमारलाई कार्यालय सहयोगीको तलबले आकर्षित गर्यो । त्यसताका कार्यालय सहयोगीलाई पियन भनिन्थ्यो । कार्यालय प्रमुखले सोझै स्थायी भर्ना गर्न सक्ने ।
पहिलोपटक लोकसेवाले हजारौंको सँख्यामा पियनका लागि विज्ञापन गर्यो ०५७ जेठमा । रामकुमारले पनि पियनका लागि तयारी गरे तर त्यो विज्ञापनका लागि परीक्षा लिइउ पनि नतिजा प्रकाशन भएन । आफ्नो खुट्टामा उभिन सकिने र हरेकले केही न केही काम गर्छन् भन्ने बुझाइका साथ पियनका लागि जलेश्वरस्थित लोकसेवा आयोगको कार्यालयमा फारम भरेका रामकुमार नतिजा नआउँदै विज्ञापन रद्द भएपछि निकै निराश भए ।
त्यसपछि उनले मुखिया पदमा परीक्षा दिए, विफल भए । तर हरेक विफलतासँगै उनले परिणामका बारेमा सोचविचार गर्थे । र, सफल हुन तयारी गर्थे ।
त्यतिबेला अहिलेजस्तो सहजता थिएन । जहाँबाट अझ अनलाइन पनि फारम भर्न सकिने । प्रतिस्पर्धी थोरै हुने र सिट सँख्या बढी हुने ठाउँका खोजीमा आकांक्षीहरू पहाडका कुनाकन्दरादेखि तराईका फाँटसम्म पुग्थे । माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला दाङको तुलसीपुर पुगे रामकुमार । समावेशी, आरक्षण र अनलाइन फारम भर्ने सुविधा नहुँदा आयोगको कार्यालयमै पुगेर आवेदन दिनुपर्ने स्थिति थियो ।
परीक्षाको समय आयो । चैतदेखि वैशाखसम्म । तर, त्यहीबेला नेपाली सेना र माओवादीबीच दाङमा भीषण भिडन्त भएको थियो । मानिसरू त्रसित थिए । एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्न डराउँथे । तर, मुखिया उतीर्ण गर्न निकै परिश्रम गरेका रामकुमार दाङ जाने साहस बटुले र पुगे त्यहाँ ।
प्रवीणता प्रमाणपत्रको दोस्रो वर्ष सकिइसकेको थियो । स्नातकको पढाइ सुरु भएको थिएन । दाङको तुलसीपुरमा उनी २० रुपैयाँ खाना र बसोबास निःशुल्क पाइने एउटा सानो छाप्रोमा बसे । सल्यान, रोल्पा, रुकुम आदि ठाउँमा आज पनि यस्तै खालको व्यवस्था छ । छवटा बेडको त्यो कोठामा लोकसेवा आयोगका परीक्षार्थीहरू नै थिए ।
ती परीक्षार्थीहरूमा स्नातकोत्तर गरेका, जागिरे र उमेरमा बढीहरू नै थिए । कयौंपटक आयोगका परीक्षामा सामेल भइसकेका । उनीहरूसँग प्रतिस्पर्धा गर्नु मुर्खताबाहेक केही हुँदैन भनेर रामकुमार निकै आत्तिए । उनलाई लाग्यो कि पहिले नै यो अवस्था थाहा पाएको भए परीक्षा दिन आउँदिन थिए होला ।
रामकुमारलाई लेखपढ गर्नुपर्ने थियो । अनि द्वन्द्वकालीन जोखिम पनि मोल्न मन लागेन । त्यसैले उनले प्रशासनतर्फ फारम भरेका थिएनन् । लेखा र न्यायतर्फ आवेदन दिएका थिए । लेखा र न्याय दुवैमा उनको नाउँ निस्किए । पहिले लेखातर्फ अन्तर्वार्ता भएकाले आयोगले उनको सिफारिस लेखातर्फ नै गर्यो । सल्यान जिल्लामा उनी पदस्थापित भए ।

यता जनकपुरमा उनको स्नातक तहको पढाइ थियो । तिनताक परीक्षा वैशाख–जेठतिरै लिइने चलन थियो । द्वन्द्वका कारण सल्यानमै रातिराति कफ्र्यु लाग्ने अनि बाटाघाटामा अवरोध हुने र वैशाख–जेठमै कार्यालयको आर्थिक विवरण इन्ट्री गर्नुपर्ने हुँदा उनलाई स्नातक तह सकाउन छ वर्ष लाग्यो ।
काम छाड्न पनि नमिल्ने र पढाइ छाड्न पनि नहुने हुँदा हरेक वर्ष केही विषयका परीक्षामात्र दिन पाएका रामकुमारलाई तीनवर्षे स्नातक गर्न छ वर्ष लागेको हो ।
स्नातक सकेपछि रामकुमारलाई स्नातकोत्तर पढ्न मन लाग्यो । अब उनी यो तह पढ्न उपयुक्त ठाउँमा सरुवा माग्न काठमाडौंको महालेखानियन्त्रकको कार्यालयमा पुगे । त्यहाँ उमेरले भने उनी कतैका कर्मचारी हुन् भन्ने महालेखानियन्त्रक कार्यालयका कर्मचारीहरूलाई धेरै बेरसम्म पत्यार लागेन ।
सरुवा भएर जनकपुर आएपछि उनले सुब्बाका लागि तयारी गर्न खासै समय दिएनन् । उनलाई राम्रो अंक ल्याएर स्नातकोत्तर गर्नुपर्ने थियो । तर, परीक्षा भने सुब्बाका लागि पनि दिए । वाणिज्यतर्फ स्नातकोत्तरमा प्रथम श्रेणीमा उतीर्ण उनी तीनपटक सुब्बाको लिखित परीक्षामा विफल भए । तर ०६५ मा भने सुब्बामा लेखा र राजस्वतर्फ नाउँ निकाले र ०६६ वैशाखमा लेखातर्फ धनुषामै पदस्थापित भए ।
उनले त्यसबीचमा शाखा अधिकृतका लागि पनि परीक्षा दिइरहेकै थिए । तर सफल हुन नसकेर नौ वर्ष लेखामा काम गरिसकेका उनी लेखा अधिकृत हुन पाएका थिएनन् । कोष तथा लेखा नियन्त्रण कार्यालय जनकपुरका प्रमुख थिए ढुण्डीप्रसाद निरौला । उनले बिदा लिएर तीनचार महिना काठमाडौंमा पढ्न रामकुमारलाई सुझाए । बिदाको सुविधा उपलब्ध गराउने तिनै निरौलाले खोजिदिएका डेरामा बसेर रामकुमारले चार महिनासम्म शाखा अधिकृतको तयारी गरे ।
०६८ मा परराष्ट्रबाहेक प्रशासन, लेखा र राजस्वतर्फ रामकुमारले फारम भरे । सबै समूहका फारम अलग–अलग भर्नुपथ्र्यो । पहिलो परीक्षा प्रशासनको भयो । उनको नाउँ निस्कियो । अन्तर्वार्तापछि उनी प्रशासनतर्फ सिफारिस भए ।
एउटा संयोग नै थियो कि रामकुमार विभन्न तहका परीक्षा दिँदा लिखितमै विफल भए । लिखितमा सफल हुँदा उनी सबैपटक अन्तर्वार्तामा छनोट भए । अब रामकुमारका लागि सर्टिफिकेट जम्मा गर्ने दौर सुरु भयो । उनले शाखा अधिकृत रहँदाका आठ वर्षसम्म समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरे । पढिरहँदा परीक्षा दिने बानी रहन्छ भन्ने बोध भएका उनले पछि माथ्ला तहका परीक्षा दिन असजिलो नहोस् भन्ने पढाइलाई जारी राखे ।
शखा अधिकृतमा पाँच वर्ष पुगिसकेपछि कानुनतः उनी उपसचिवमा प्रतिस्पर्धा गर्न योग्य भए । त्यसपछि उनले उपसचिवमा तीनपटक परीक्षा दिए । तर उनी सफल भएनन् । सहसचिवका लागि सात वर्षको अनुभव चाहिन्छ । उपसचिव बन्ने लक्ष्य लिएका उनले सहसचिवको तयारी गर्न थाले । उनले तनाव नलिइकन सहसचिवको तयारी गरे । परीक्षा दिए । ०७७ असारमा उनको नियुक्ति सहसचिवमा भयो ।
शाखा अधिकृतबाट सोझै सहसचिव बनेका रामकुमार आरम्भमा गृह मन्त्रालयमा कार्यरत रहे । त्यसपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमा पदस्थापित भए । ४१ वर्षीय रामकुमार कञ्चनपुरबाट सर्लाहीका प्रमुख जिल्ला अधिकारी भएर फेरि गृहमन्त्रालय फर्केका छन् ।
