अहिलेका


कमला खोस्रने प्रयास, भण्डारणका नाममा क्रसर सञ्चालन तयारी !

जनकपुरधाम, २६ कात्तिक ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटरको चार लेन सडक निर्माण गरिरहेको चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले कर्जन्हा नगरपालिका–१ स्थित कमला बगरमा नदीजन्य पदार्थ भण्डारणका लागि अनुमति दिन गत असोज १७ मा प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा निवेदन दियो । मन्त्रालयले कात्तिक १ मा डिभिजन वन कार्यालय लहान सिरहालाई जग्गा उपलब्ध गराइदिन भनी पत्र काट्यो ।

डिभिजन वन कार्यालयले कात्तिक ५ मा कर्जन्हा– १ स्थित ब्लक एकको जग्गा प्रयोग गर्न दिन भनी वडा कार्यालय र नन्द बाबा सामुदायिक वनलाई पत्र काट्यो । यतिबेलासम्म स्थानीयलाई केही थाहा थिएन । तर, त्यसपछि वनका अध्यक्ष श्यामबहादुर फुँयाललगायत केही व्यक्तिले एउटा म्यान्युट बनाएर गाउँमा स्थानीयलाई हस्ताक्षर गर्न लगाए । पोखरी खनिने र त्यसबाट आउने माटो बालुवाले गाउँका सडकहरू ग्राभेल हुने भनेर उनले झन्डै दुई सय स्थानीयसँग झुक्याएर हस्ताक्षर गराए ।
त्यसपछि स्थानीयले सोधखोज गरेपछि भण्डारण मात्र नभएर भण्डारणका लागि अनुमति लिएर त्यहाँ क्रसर सञ्चालन गर्ने आन्तरिक योजना रहेको थाहा पाएका छन् ।

यहाँ आसपासमा अन्य कुनै नदी नभएको र कमलामै भण्डारण गर्न खोजिनुले पनि कमलाबाटै उत्खनन् गर्ने योजना निर्माण कम्पनीको रहेको प्रस्ट देखिन्छ । यस्तो थाहा पाएपछि स्थानीय यसको विरोधमा उत्रेका छन् । खोला उत्खनन् भएपछि पानी तल जाने भएकाले यहाँको जमिन खण्डहर हुने र गाउँमा समेत खानेपानी समस्या हुने भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

भण्डारणका लागि अनुमति दिए निर्माण कम्पनीले क्रसर सञ्चालन गर्ने भन्दै कुनै पनि हालतमा यसमा सहमत नहुने अडान स्थानीयको छ । तर, निर्माण कम्पनीले विभिन्न मान्छेलाई आफूले सबै प्रक्रिया पुर्याइसकेको र जसरी पनि त्यहाँ आफ्नो काम थाल्ने बताइरहेको स्थानीय बताउँछन् ।

स्थानीयले विरोध गरेपछि निर्माण कम्पनीले स्थानीयलाई जग्गा प्रयोग गरेबापत प्रत्येक वर्ष एक लाख गरी तीन वर्षको तीन लाख दिने प्रस्ताव पनि गरेको छ ।

आफूहरूको विमति भए पनि निर्माण कम्पनीले वनका अध्यक्ष फुँयालसहित केही व्यक्तिहरूको मिलेमतोमा नदीजन्य भण्डारणका नाममा क्रसर सञ्चालन गर्ने प्रयास गरिरहेको स्थानीयको आरोप छ । तर, वनका अध्यक्ष फुँयालले भने भण्डारणका विषयबाहेक आफूलाई केही पनि थाहा नभएको दावी गरेका छन् ।

यसमा नगरपालिकाका मेयर गंगा पासवान र उपमेयर ज्ञानकुमारी श्रेष्ठका साथ रहेको दाबी स्थानीयको छ । वडाध्यक्ष मोहनलाल खत्री भने आफू स्थानीयकै मागका पक्षमा रहेको बताए ।

यस ठाउँमा ७–८ वर्षअघि पनि क्रसर सञ्चालन गरिएको थियो । तर, आसपासमा पानीको हाहाकार मचेपछि स्थानीयले क्रसर बन्द गराएका थिए ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!