विश्व दृष्टि दिवस
जनकपुरधाम, २८ असोज ।
धनुषा जिल्लाको सुदूर पूर्वी भेगमा पर्ने कमला नगरपालिकामा गत साता सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरमा जाँच गराउन पुगेका सात सय ५० जनामा तीन सय २२ जना मोतियाबिन्दुका रोगी फेला परे ।
मानिसलाई टाढाका वस्तु वा कुनै कुरा छुट्याउन गाह्रो पर्ने अवस्था मोतियाबिन्दु हो । अशिक्षा, चेतना र उपचार गराउन सहयोगी अभावमा धनुषाका पूर्वी भेगमा सयौंको सँख्यामा मोतियाबिन्दुका रोगी रहेका छन् । व्यक्तिको जन्मसँगै प्राकृतिक रूपमा आँखाको भित्री भागमा हुने पारदर्शी लेन्स अपारदर्शी भएमा मोतियाबिन्दुको समस्या आउँछ ।
सामान्यतया ढल्कँदो उमेरसँगै प्राकृतिक पारदर्शी लेन्सले काम छाड्दै जान्छ ।
आँखाको लेन्समा दाग हुनु, कलर हुनु नै मोतियाबिन्दु हो । तर कहिलेकाहीँ दुर्घटना वा विकीरणको असरबाट वा जन्मजात र आँखाका शल्यक्रियाका कारण पनि मोतियाबिन्दु हुन सक्छ ।
‘धनुषा, महोत्तरी र सर्लाहीका पिछडिएका क्षेत्र र सीमावर्ती भारतीय क्षेत्रमा फेला पर्ने मोतियाबिन्दुका रोगीहरू भने बढी उमेरकै कारण त्यस समस्याबाट पीडित छन्,’ जनकपुरधामस्थित जानकी आँखा अस्पतालका नेत्र अधिकृत रुदल साह भन्छन्,‘मोतियाबिन्दुको उपचार सस्तो, सजिलो र सहज छ । तर ग्रामीण भेगका ती रोगीहरूको उपचारमा पहुँच छैन ।’
जानकी आँखा अस्पतालले ग्रामीण भेगमा निःशुल्क आँखा उपचार शिविर आयोजना गरी शल्यक्रियाबाट मोतियाबिन्दुको उपचार गराउन बिरामीहरूलाई प्रोत्साहित गर्दैआएको छ ।
कमला नगरपालिकाकै शिविरमा उपचार गराएकामध्ये एक सय ५० को हाराहारीमा दृष्टिदोषबाट पीडितहरू पहिचान भए भने अन्यमा टाउको दुख्ने र आँखा चिलाउनेजस्ता समस्या देखिए ।
नेत्र अधिकृत साहका अनुसार उच्च रक्तचाप र मधुमेहका कारण आँखाको रेटिना बिग्रने जस्ता समस्या पनि देखिएका छन् ।
ग्रामीण भेगमा देखिने मोतियाबिन्दु र जलबिन्दुका अतिरिक्त अहिले सहरी भेगमा कम्प्युटर र मोबाइलको असीमित प्रयोगले दृष्टिदोषको समस्याबाट पीडितको सँख्या हवात्तै बढेका छन् ।
दृष्टि धमिलो भएर जाने, उज्यालोमा हेर्दा गाह्रो हुने वा तिरमिराउने, एउटै वस्तु आँखाले दुई वा दुईभन्दा बढी हेर्ने, आँखाको नानीभित्र सेतो देखिने, अँध्यारोम झन् कम देखिने, चश्माको पावरमा परिवर्तन आइरहने, रंगहरू फरक देखिन थाल्ने, राति आँखा नदेख्ने, सवारीसाधन चलाउन, पुस्तक पढ्न वा मानिसको अनुहार पहिचान गर्न कठिनाइ हुने लक्षण भएको मोतियाबिन्दु हुनुका ९९ प्रतिशत कारण बढ्दो उमेर नै हो ।
तर, मधुमेह तथा हाइपरटेन्सनजस्ता रोगका कारण, आँखामा देखा पर्ने रोग जलबिन्दुजस्ता रोगका कारण, पोषण तत्वको कमी, चिनी रोग, जन्मजात रूपमा वा आँखाको अन्य समस्याको लागि गरिएको शल्यक्रिया, वंशाणुगत कारण, बच्चा जन्मनु भन्दा अगाडि आमाको पेटमा भएको इन्फेक्सनका कारण, चोटपटक लागेर, घामको विकीरणले गर्दा, आँखाको पानीको खराबी र धूमपानका कारण पनि मोतियाबिन्दु हुन सक्ने बी अप्टोमेट्रीमा अध्ययनरत शुभेच्छा भट्टराई भन्छिन् ।
जानकी आँखा अस्पतालका नेत्र अधिकृत साहले फेको प्रविधि(सानो प्वाल पारेर पुरानो लेन्स निकाल्ने र कृत्रिम लेन्स राख्ने) को शल्यक्रियाबाट सम्भव भइरहेको जानकारी दिए ।
