अहिलेका


कमला नदीमा भूत मेला : धामीभगतासहित लाखौं श्रद्धालु सहभागी

जनकपुरधाम, ३ मंसिर ।

धनुषा र सिरहाको सीमा नदी कमला किनारमा भूत मेला लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका प्रत्येक वर्ष यस क्षेत्रमा भूत मेला लाग्ने गरेको छ ।

भक्तिगान र तीर्थयात्राको सर्वाधिक महत्व रहेको मिथिलामा कात्तिक शुक्ल पूर्णिमाका दिन कमला नदीमा पवित्र स्नान गरेपछि तन्त्र विद्या सिद्ध हुने जनविश्वास रहँदै आएको छ ।

नदी किनारमा तन्त्र विद्या सिद्ध गर्न श्रद्धालुभक्तजन, धामी र सर्वसाधारणको भीड लागेको छ । नेपालका सीमावर्ती जिल्ला र समीपवर्ती भारतीय क्षेत्रका लाखौं श्रद्धालु, धामी, भगता कमला नदीमा स्नान गरिरहेका छन् ।

धामीझाँक्रीका रूपमा सिद्धि प्राप्त हुने विश्वासका साथ भक्त, धामी र भगताले देउता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तन्त्र विद्याको वर दिने तथा योगसिद्धि बुझाइ छ ।

मिथिलाञ्चलमा तन्त्र विद्या औषधीय परम्पराका रूपमा प्रचलित र मान्य रहँदै आएको छ । विश्वसभ्यतामा तन्त्रसिद्धि नदी किनारमै प्राप्त गर्न सकिने लोकविश्वास समेत छ ।

तन्त्रपरम्पराका अनुसार तन्त्रसिद्धिका लागि यस दिन पूर्णाहुति दिइन्छ । मूल धामीले मन्त्र सिद्ध गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ ।

कमला स्नानपछि भक्तजनहरूले कमला नदीको पानीसमेत आ–आफ्नो घर लैजाने गर्छन् । स्नानका बेला मूलधामीहरूले लोकभाका ‘महराई’ गाउने गर्छन् ।
मन्त्र सिकाउनेलाई ‘धामी’ भन्ने गरिन्छ । घरको कूलदेवताको पूजापाठ गर्नेलाई ‘भगता’ भनिन्छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!