अहिलेका


कमिसनमा पल्केका जनप्रतिनिधिलाई वडाध्यक्षको मुक्का !

ढल्केवर, ७ असोज ।

ठेक्कापट्टा, खरिद र कार्यक्रम सञ्चालनमा मोटो रकम कमिसन लिन पल्केका जनप्रतिनिधिहरूलाई खेदो खन्ने काम सामान्य मानिन्छ । जतिसुकै कटाक्ष, आलोचना र सत्तोसरापका शिकार भए पनि उनीहरू सुध्रिएका छैनन् । उनीहरूका अनियमित र विवादास्पद कामका बीच असल र गुणी जनप्रतिनिधिहरूले गर्ने सही एवम् सार्थक काम हराइरहेका छन् ।

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं ४ पुष्पवलपुरका अध्यक्ष विष्णुहरि खदाल थोरै रकममा बढी तथा गुणस्तरीय काम गर्ने जनप्रतिनिधि हुन् । उनले गत आर्थिक वर्षमा ३० लाख रुपैयाँ खर्चेर करिब पाँच किलोमिटर लामो ग्रयाभेल सडक बनाउन लगाएका छन् । सुन्दर, आकर्षक, फराकिला र मजबुत सडक बनाउन लगाएका उनको चर्चा भने कागज मिलाएर भ्रष्टाचार गर्नेहरूको बाक्लो भिडमा हराएको छ ।

नाममात्रको रकममा पूर्वपश्चिम राजमार्गमा पर्ने पुष्पवलपुर चोकदेखि धार्मिकस्थल चमेनियाँ माई मन्दिरसम्म २८ फिट चौडा र पाँच किलो मीटर लामो ग्राभेल कच्ची सडक निर्माण भएको छ । वडाध्यक्ष खदालकाअनुसार गत आर्थिक वर्षमा वडाक्षेत्रमा तीन करोड रुपैयाँबराबरको विकास निर्माणका काम भएका छन् ।

खानेपानी संरचना विकास, विद्यालय भवन, सामुदायिक भवन तथा मठमन्दिर निर्माण र बाटो मर्मत तथा सुधारका काममा सो रकम खर्च भएको उनले बताए । ती जम्मै काम उपभोक्ता समिति तथा ठेकेदारमार्फत भएका छन् । ती कामको प्रत्यक्ष निगरानी वडाध्यक्ष आफैंले गरेकाले ठेकेदार वा उपभोक्ता समितिले गर्ने परम्परागत कमसल र अधुरा नभएको स्थानीयवासी बताउँछन् ।

‘विकास निर्माणका काममा दायाँबायाँ हुन दिएको छुइनँ । त्यसैले वडामा काम गरेका निर्माण कम्पनीका ठेकेदारहरू मसँग चिढिएका छन्,’ वडाध्यक्ष खदालले भने, ‘जनताले तिरेका करबाट निर्माण हुने कुनै पनि संरचना ठोस हुनुपर्ने मेरो मान्यता छ ।’

प्रदेश नम्बर २ का वडामध्ये सबैभन्दा उत्कृष्ट काम गरेको त्यस वडामै भएको अध्यक्ष खदालको दाबी छ । वडाका लागि विनियोजित बजेटको शतप्रतिशत सदुपयोग भएको उनको भनाइ छ ।

वडाध्यक्षका काम देखेर वडावासीले सन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय रामएकवाल महतोले वडाध्यक्ष खदालले निकै राम्रा काम गरिरहेको बताए । उनले विकास निर्माणका काममा कुनै लोभलालच नदेखाएका महतोको कथन छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!