मिथिला इतिहासको प्रमाण मानिन्छ, सीमावर्ती भारतीय क्षेत्रमा रहेको कल्याणेश्वर महादेव । जसको स्थापना राजा जनकले गरेको जनश्रुति छ । राजा जनकले जनकपुरका चारैतिर चारवटा शिवलिंगको स्थापना गरेका थिए । तिनैमध्ये एक हुन्, कल्याणेश्वर महादेव मन्दिर ।

यो स्थान मिथिला मध्यमापरिक्रको दोस्रो दिनको रात्रिविश्राम गर्ने थलो हो । कतिपय व्यक्तिहरूले यहाँबाट समेत परिक्रमा सुरुवात गर्ने गरेका छन् ।
सीमावर्ती भारतीय गाउँको एकान्तमा रहेको यो मन्दिरको ऐतिहासिक महत्व छ ।
जनकपुरबाट चारकोस दक्षिण पूर्वमा पर्ने कल्याणेश्वर महादेवको दर्शन गर्न भक्तजनहरूको भिड लाग्ने गर्दछ । यस मन्दिरमा प्रवेश गर्ने जो कोहीले शिवगंगा पोखरीमा हातमुख धोएर मात्रै मन्दिरमा प्रवेश गर्ने गर्दछन् ।
मन्दिरको गर्भगृहमा महादेवको लिंग प्रतिष्ठित छ भने गर्भगृहको अर्को भाग अर्थात् प्रवेशद्वारमा भगवान विष्णुको कालो पत्थरको आकर्षक मूर्ति छ ।
मन्दिरका पुजारी अरुण ठाकुरका अनुसार मन्दिरको गर्भगृहमा प्रवेशसँगै राखिएको विष्णुको मूर्ति मन्दिरअगाडि रहेको शिवगंगा पोखरीको जीर्णोद्धार क्रममा पाइएको थियो ।
विहारका तत्कालीन मुख्यमन्त्री जगन्नाथ मिश्रले सो पोखरीको जीर्णोद्धार गराएका थिए । यसबारे थप खोजीनीति हुन सकेको छैन ।
कल्याणेश्वर महादेव मन्दिरमा घुम्दाघुम्दै परमहंस बाबा आएका थिए । उनी त्यही बस्न थालेपछि कल्याणेश्वर महादेव मन्दिरमा टाढाटाढाबाट भक्तजन आउन थालेको मन्दिरका पुजारीहरू बताउँछन् ।
उहाँ बह्म्रलीन भइसके पनि भक्तजनहरू मन्दिर र समाधिस्थलमा अत्यधिक संख्यामा आउने गर्दछन् । मन्दिरका पुजारीका अनुसार उहाँले आशीर्वाद दिँदा हरेक काम पुरा हुने भएकाले गर्दा भक्तजनहरू आउने गरेका थिए ।
मन्दिरको अस्तित्व पहिलेदेखि नै रहे पनि अहिलेको भव्य स्वरूप भने परमहंस बाबाकै प्रयत्नले पाएको छ ।
मन्दिरबाहिर तिनै परमहंस बाबाको भव्य समाधिस्थल छ । जसभित्र उहाँको शंखमरमरको भव्य मूर्तिको निर्माण गरिएको छ । लाग्छ उहाँ अहिले पनि त्यो मन्दिरमा विराजमान हुनुहुन्छ ।
त्यसैगरी त्यही मन्दिरअगाडि सानो पराले झुपडी छ । त्यसैमा परमहंस बाबा बस्दै आएका थिए । त्यो झुपडीमा केही समान राखिएका छन् । अहिले आउने भक्तजनहरू त्यो झुपडीलाई समेत सिद्धसन्त परमहंस बस्ने गरेको कारणले मन्दिरको स्वरूपमा पूजाआजा गर्ने गरेका छन् ।
त्यसैगरी मन्दिरभित्र विभिन्न मूर्तिहरू छन् । मन्दिरभित्र आनन्दभैरव,रामसीता, हनुमान आदिको मन्दिर छन् । मन्दिर परिसरमा कतिपय पुरातात्विक महत्वका मूर्तिहरू समेत छन् ।
(लेखक धर्मसँस्कृतिका अध्येता र वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व कार्यकारी निर्देशक हुन्)
