अहिलेका


कसरी हरायो जनकपुरधामको खुकुरीचोक ?

जनकपुरधाम, १५ कात्तिक ।
जनकपुरधामको निकै चर्चित ठाउँ हो, भानुचोक । पहिलो मधेस आन्दोलनमा यहाँ रहेको नेपाली भाषाका आदिकवि भानुभक्तको अग्लो स्मारक भत्काइयो । त्यसयता भानुचोकको नाउँ परिवर्तन गर्ने कसरत बेलाबखत गरिन्छन् । तर, सर्वसाधारणको ओठबाट भने भानुभक्तको स्मारकबिनाको थलो अहिले पनि भानुचोक नै छ ।

तर, कुनैबेला भानुचोकको नाम खुकुरीचोक थियो । सामान्य ज्ञानका प्रश्न नै थियो,‘भानुचोकको पुरानो नाम के हो?’ अहिलेका पुस्ता भने भानुचोकको विगतबाट परिचित छैनन् ।

वरिष्ठ पत्रकार एवम् धर्मेन्द्र झाका अनुसार कुनै बेला भानुचोक वरपर पहाडी समुदायको बाक्लो बस्ती थियो । पहाडी समुदायको पहिचानसँग खुकुरी शब्द जोडिएको र जनकपुरधाममा एकडेढ महिनासम्म लाग्ने मेलामा खुकुरीको कारोबार हुने हुँदा भानुचोक क्षेत्रको नाम खुकुरीचोक पर्न गएको हो ।

धार्मिक, साँस्कृतिक र राजनीतिक केन्द्र रहेको जनकपुरधाममा दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा लगायतका जिल्लाबाट उल्लेख्य सँख्यामा पहाडी समुदायका व्यक्तिहरू जनकपुरधामको मेलामा किनमेल गर्न आउने गर्थे । भानुचोक नजिकै रहेको पहाडिया गाछीमा व्यापार गर्न आउने पहाडीहरू यात्राक्रममा सुरक्षाका लागि खुकुरी भिर्ने भएकाले पनि भानुचोकको नाउँ खुकुरीचोक पर्न गएको अनुमान वरिष्ठ पत्रकार झाको छ ।

जनकपुरको भानुचोक । यस ठाउँलाई विसं २०२२ अघि खुकुरीचोक भनिन्थ्यो ।

तर, सँस्कृतिविज्ञ डा.राजेन्द्र विमलका अनुसार विसं २०२० सालअघि भानुचोकलाई खुकुरीचोक भनिन्थ्यो । त्यसक्षेत्रमा बसोबास गर्ने पहाडी समुदायका व्यक्तिहरूबीच झैंझगडा र वादविवाद हुँदा खुकुरीबाट एकअर्कालाई प्रहार गर्ने र घाइते बनाउने घटना दोहोरिन थालेपछि जनकपुरका रैथाने मधेसीले त्यस ठाउँलाई खुकुरीचोक भन्न थालिएको हो ।

विसं २०२२ सालमा लीलासिँह कर्माचार्य, ताराप्रसाद उपाध्याय, कृष्णप्रसाद उपाध्याय, दामोदर नयन, लोकराम पाण्डे, विष्णुप्रसाद ढुंगेल र कनिष्ठ सदस्यका रूपमा रहेका डा.विमललगायतको समितिले खुकुरीचोकमा भानुभक्तको प्रतिमा राखी स्मारक निर्माण गरेको थियो । त्यसपछि धेरै दिनसम्म सर्वसाधारणको ओठमा खुकुरीचोक नै झुन्डिएको डा.विमलले स्मरण गरे ।

कहाँ थियो पहाडी गाछी ?

जनकपुरधाम उपमहानगरपालिका कार्यालय पछाडि पहाडी गाछी थियो । जहाँ पहाडी जिल्लाका बासिन्दाहरू सुन्तला, बेसार, ल्वांग, सुकुमेल, शिलाजित, तेजपात आदि ल्याएर बिक्रीवितरण गर्थे । पहाडी गाछीमा एकडेढ महिनासम्म लाग्ने मेलामा जाँडरक्सी विक्री हुनुका साथै दाहोरी गीत प्रतियोगितासमेत हुन्थ्यो । रौंदीघरमै बिहा भएजस्तो पहाडीगाछीमा समेत बिहाबारी हुने परम्परा थियो ।

पहाडिया गाछीमा मेला लागेकै बेला जनकपुरधामको तिरहुतिया गाछीमा मेला लाग्थ्यो । जहाँ तिरहुत क्षेत्र(सीमावर्ती भारतीय क्षैत्रसमेत) का समेत व्यापारीहरूले पसल थाप्थे । जहाँबाट पहाडी समुदायका व्यक्तिहरूले लत्ताकपडा, जुत्ताचप्पल, मरमसाला आदि किन्ने गर्थे । यस गाछीमा सोहर, बटगमनी, विद्यापतिका गीत गाउने गरिन्थ्यो ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!