जनकपुरधाम, २७ कात्तिक ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो ।
आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिए ।
उनले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताउँदै अधिवेशन सफल बनाउन एक हजार ५०१ जनाको मुल समिति र ११ वटा उपसमिति गठन गरिएको बताए । कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।
वडा अधिवेशनको अन्तिम नामावली कात्तिक २८ गतेभित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेशन गर्ने तालिका रहेको सभापति शाहको भनाइ छ । कैलालीमा नेपाली कांग्रेसका १८ हजार २७३ क्रियाशील सदस्य रहेका छन् । जिल्लाको सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा क्रियाशील सदस्य रहेका छन् । काँग्रेसका अनुसार धनगढीमा एक हजार १२९ महिला र तीन हजार ३७४ पुरुष गरी चार हजार ५०३ क्रियाशील सदस्य रहेका छन् ।
त्यस्तै आइतबार धनुषाको विभिन्न वडामा वडा अधिवेशन हुने छ । धनुषामा एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिकाका १६१ वडामा कात्तिक २८ गते आइतबार काँग्रेसको वडा अधिवेशन हुने भएको छ । वडा अधिवेशनले पार्टीको वडा सभापति चयन गर्नुका साथै दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र सदस्यहरुसहित नौ देखि ११ सदस्यीय कार्य समिति चयन गर्नेछ । कार्यसमितिका कोषाध्यक्ष भने वडा सदस्यबाट मनोनित गर्ने प्रावधान छ ।
काँग्रेसका अनुसार डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, महोत्तरी, बारा, सोलुखुम्बु, दार्चुला, म्याग्दीमा आज वडा अधिवेशन हुँदैछ ।
त्यस्तै सिन्धुपाल्चोक, पर्सा र सर्लाहीमा आज वडा अधिवेशन नहुने भएको छ भने सिन्धुपाल्चोकमा ३० गते वडा अधिवेशन हुनेछ भने पर्सामा अझै टुंगो लागेको छैन ।
त्यस्तै सर्लाहीका निर्वाचन अधिकृतले राजीनामा दिएकाले त्यहाँको अधिवेशन पनि अनिश्चित बनेको छ ।
यसअघि अधिवेशन सकाइएका वडामा पनि पटक पटक गरी अधिवेशनको मिति तोकिएको थियो ।
वडा अधिवेशन सकाएपछि कांग्रेसले बाँकी रहेका गाउँ÷नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक क्षेत्रमात्र भएको जिल्लामा जिल्ला अधिवेशन मंसिर ६, एकभन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० मा गर्ने तालिका निकालेको छ ।
प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४–२६ काठमाडौंमा गरिने छ ।
