अहिलेका


काँग्रेसको प्रदेश २ अधिवेशन : किन रामसरोज यादवले जित्ने आधार बन्दैछ ?

काँग्रेस राजनीतिमा रामसरोज यादवको छवि पार्टीप्रति अटल, अविचलित र समर्पित नेताको छ । आफ्ना सैद्धान्तिक र वैचारिक अडान, दृढता र अटोठका कारण कहिलेकाहीँ फरक दलका नेताहरूका बीचमा उनी पृथक देखिन्छन् । तर, यो फरकपना भनेको लोकतान्त्रिक पद्धतिका लागि संकल्प र साहसले दिएको आत्मविश्वासको प्रतीकका रूपमा रहँदै आएको छ । काँग्रेस नेताहरूको यो आत्मविश्वास नै हो जसले पञ्चायतको कालरात्रिमा स्वतन्त्रता, समानता र नागरिक सरकारको विश्वास जनताको मनमा जगाइरह्यो ।

कपिलदेव यादव

लोकतान्त्रिक संघर्षका चरणहरू आज पनि कष्टसाध्य छ । तर, तीन दशकअघि प्रजातान्त्रिक लडाइँ गरिरहँदा बोल्ने ओठ र उज्याउने हात थोरै थिए । तिनकै बलबाट परिवर्तन सम्भव छ भने जनतामा भरोसा थियो । त्यसताक संघर्षको राजनीतिक क्षितिजमा रामसरोज यादव देखिएका थिए । सम्भवतः २०२९ सालतिर । २० दशकको अन्त्यतिर जनतामा राजनीतिक चेतना सुषुप्त थियो भने अझै अभिव्यक्त गर्ने वातावरण संकुचित ।

नेपाली काँग्रेसको प्रदेश २ सभापतिका उम्मेदवारी घोषणा गरेका नेता रामसरोज यादव ।

यस्तोमा ज्यानको बाजी राखेर बहुदलीय प्रजातन्त्रका पक्षमा जनमत सिर्जना गर्ने बिरलै नेतामध्येका एक रामसरोज काँग्रेसको प्रदेश २ सभापतिमा उम्मेदवारी दिँदैछन् । अंकगणित, बिजगणित र ज्यामितिमा आधारित चुनावी राजनीतिमा उनको स्थिति कस्तो रहला ? यो अहिले चर्चाको विषय बनेको छ ।

यस्तो चर्चा हुनुको पृष्ठभूमिमा केही कारण छन् । पहिलो, उनी प्रदेश २ सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्दैछन् । दोस्रो, चुनावमा भूगोलका कुरा पनि उठ्न थालेका छन् । तेस्रो, पार्टी केन्द्रीय सभापतिका पराजित उम्मेदवार विमलेन्द्र निधिसँगको सन्निकटता पनि हो ।

काँग्रेसभित्र हरेक तहमा गुटगत विभाजन छ । लोकतान्त्रिक प्रक्रिया वा पद्धतिबाट अघि बढ्ने पार्टीमा नेताकार्यकर्ताहरू भिन्नभिन्न कित्तामा ध्रुवीकृत हुनु स्वाभाविक पनि हो । काँग्रेस निर्वाचनमा पनि यस्तो ध्रुवीकरण सतहमै देखियो । जसको बाछिटा पार्टीको प्रदेश २ अधिवेशनमा पर्ने आकलन पहिले पनि गरिएको हो ।

अहिले प्रदेश २ अधिवेशन सरेर आएको स्थिति छ । त्यसअघि पार्टी संस्थापनबाट रौतहटका कृष्णा यादवले उम्मेदवारी दिने चर्चा चलेको थियो । कृष्णा यादवले औपचारिक रूपमै पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरेका थिए । रामसरोजले उम्मेदवारी घोषणा गर्दा प्रदेश २ मा रहेका निधि र त्यसताकको पौडेल(रामचन्द्र पौडेल) समूहको मत र निधिकै कारण संस्थापनसँग नजिक काम गरिरहँदा रामसरोजको स्वयं निकट रहेका नेताकार्यकर्ताहरूको आडभरोसामा उनी जित्ने अपेक्षा गरिएको थियो । यद्यपि झट्ट हेर्दा रामसरोजको पक्षमा अंकगणित भने धेरै सजिलो थिएन ।

तर, बदलिएको परिस्थितिमा रामसरोज यादवका पक्षमा मजबुत माहोल बन्दै गएको छ । केन्द्रीय सभापति पदमा पराजित र दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सहयोग तथा समर्थन गरेका निधिले प्रस्ट ढंगले रामसरोजलाई सर्वसम्मत सभापति बनाउनुपर्ने प्रस्ताव नवनिर्वाचित सभापति देउवासमक्ष राख्नु र देउवाले यसलाई अस्वीकार नगर्नुले पनि पनि रामसरोज यादवको जित्ने आधार तयार भएको विश्लेषण गरिँदैछ ।

अर्कोतिर, मधेसका मतले अग्रता लिएका देउवालाई मधेशमा पार्टीको जनाधार सशक्त बनाउने चुनौती छ । यसलाई पार गर्न उनी कुनै पनि जोखिम मोल्न चाहँदैनन् होला । यस्तोमा तुलनात्मक रूपमा कमजोर राजनीतिक पृष्ठभूमि भएका र जिल्लाभित्रै विभिन्न गुटका आलोच्य पात्र रहेका कृष्णा यादवका पक्षमा उनले उर्दी जारी गर्न सक्दैनन् भन्ने लेखाजोखा पनि गरिँदैछ । यद्यपि देउवा पक्षका केही घरेलु नेता भने अस्तित्वरक्षणका लागि रामसरोजका विरुद्ध भ्रम उत्पन्न गराउन सक्ने अवस्था देखिन्छ ।

तत्कालीन जिल्ला विकास समितिका सभापति रहँदा रामसरोजमा लचकता नदेख्नेहरूले पछिल्लोपटक प्रदेशसभा २ मा संसदीय दलका नेता हुँदा सबै पक्षलाई समेटेर अघि बढ्न खोज्ने उनको खुबी पनि हेरिरहेका छन् । अर्थात् एउटा पक्षप्रति अन्धभक्ति प्रकट गर्ने कृष्णा यादवभन्दा सबै पक्षका लागि उपयुक्त हुने शेखर कोइरालाका मतदाताहरू रामसरोजलाई नै मत दिने भने किट्दा अतिश्योक्ति नहोला ।

आगामी स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीको प्रदर्शन अब्बल बनाउन योग्य, सक्षम र परिपक्व सभापति चाहिन्छ । राष्ट्रिय र प्रादेशिक राजनीतिको अनुभव पनि उत्तिकै भएका । यस दृष्टिले रामसरोजको विकल्प भने खोज्न कठिन नै छ ।

(यो लेखकको नितान्त व्यक्तिगत विश्लेषण हो ।)


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!