अहिलेका


काँग्रेसबाट निकालिए युवराज खाती

जनकपुरधाम, १४ असोज ।

२०३६ सालको विद्यार्थी आन्दोलन र २०४६ सालको जनआन्दोलनताका शिखरोत्कर्ष लोकप्रियता आर्जन गरेका नेपाली काँग्रेसका नेता युवराज खातीलाई पार्टीको क्रियाशील सदस्यबाट वञ्चित गरिएको छ ।

चार दशकभन्दा बढी समयदेखि पार्टीमा संलग्न खातीको नाम बुधबार प्रकाशित धनुषा जिल्लाको क्रियाशील सदस्यहरूको नामावलीमा छैन । खाती धनुषा गृहजिल्ला भएका नेता हुन् ।

१४ औँ महाधिवेशनका लागि नवीकरण गर्न निवेदन दिए पनि नेता खातीको नाम क्रियाशील सदस्यमा छैन । २०४६ सालको जनआन्दोलनपछि देशमा भएको आम निर्वाचनमा उनी जनकपुरक्षेत्रबाट सांसद पदका स्वतन्त्र प्रत्याशी बनेका थिए ।

नेपाल विद्यार्थी संघ धनुषाबाट राजनीति सुरू गरेका उनी जनकपुरधामस्थित राराब क्याम्पस र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरका स्वतन्त्र विद्यार्थी युनियनका सभापतिमा समेत निर्वाचित भएका थिए । अहिलेका मधेसवादी नेता जयप्रकाश गुप्ता(जेपी) खाती नेतृत्वको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुमा सचिव थिए ।

विसं. २०३३ सालमा पहिलोटक ७ महिना जेल परेका खाती जनमतसंग्रहको समयमा भारत प्रवासमा थिए । नेता खाती २०३८ देखि २०४६ विभिन्न आन्दोलनमा पटक–पटक गरी ५ वर्षभन्दा बढी जेल परिसकेका छन् ।

लामो समयदेखि कांग्रेसप्रति समर्पित नेता खातीको नाम षडयन्त्रपूर्वक क्रियाशील सदस्यता सूचीबाट हटाइएको तरुण दल प्रदेश २ का संयोजक रामपल्टन साहको आरोप छ ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!