अहिलेका

काँग्रेसभित्र गम्भीर अन्तर्घात, जनकपुरधाम कार्यपालिकामा राकेश विजयी, महतो पराजित

प्रशोधक समाचारदाता
जनकपुरधाम, २० जेठ ।
जनकपुरधाम उपमहानगरपालिकाको शुक्रबार सम्पन्न कार्यपालिका चुनावमा नेपाली काँग्रेसभित्र भएको गम्भीर अन्तर्घात र प्रतिस्पर्धी राजनीतिक दलसँगको साँठगाँठका कारण नेकपा एमालेका दुई उम्मेदवार विजयी भएका छन् । नगरसभामा ६९ मत रहेको काँग्रेसका अल्पसँख्यकतर्फका उम्मेदवार पंकज महतो र रामप्रवेश ठाकुर निर्वाचनमा विजयी हुन आवश्यक ६३ मत प्राप्त गर्न नसक्दा पराजित भएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा विजयी काँग्रेसका राकेशविक्रम साह र पराजित सोही पार्टीका पंकज महतो ।

काँग्रेसका उम्मेदवार महतोले ४९ र ठाकुरले ३५ मत प्राप्त गरेका छन् । कार्यपालिका सदस्यमा पराजित एमालेका तीन अल्पसँख्यक उम्मेदवारमध्ये जयशंकर गुप्ताले भने २९ मत प्राप्त गरेका छन् । विजयी एमाले उम्मेदवारहरू दिपेन्द्र साहले ७८ र सन्तोष महतोले ६८ मत हासिल गरेका छन् । दिपेन्द्र र सन्तोषले हासिल गरेका मत कार्यपालिका सदस्य बन्न चाहिने ६३ मतभन्दा बढी हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाको नगरसभामा नेकपा एमालेको मत ३६ रहेको छ । अल्पसँख्यकतर्फ चुनाव जितेका काँग्रेसका कार्यपालिका उम्मेदवार राकेशविक्रम साहले ८६ मत पाएका छन् । यो सँख्या नगरसभामा काँग्रेसका सदस्यभन्दा बढी हो ।
पाँच महिलासहित आठ कार्यपालिका सदस्यलाई नगरसभाले निर्वाचित गर्ने प्रावधान छ । जनकपुरधाम उपमहानगरको नगरसभाका कुल एक सय २७ सदस्य कार्यपालिका सदस्य निर्वाचनमा मतदाता हुने गर्दछन् । कार्यपालिका सदस्यमा निर्वाचित आठजनासहित थप २५ वडाध्यक्ष र नगरप्रमुख र नगर उपप्रमुख सदस्य रहने गर्दछन् । कार्यपालिकाका सदस्सयसचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ ।

धनुषा काँग्रेस जिल्ला कार्यसमितिले कार्यपालिका सदस्यका लागि अल्पसँख्यक तथा दलित कलस्टरबाट चुनिने राकेशविक्रमसहित राजकुमार पूर्वे र छेदी राउतका नाम सिफारिस गरेको थियो । तर, पार्टीको प्रदेश समितिले राकेशविक्रमको उम्मेदवारीलाई निरन्तरता दिँदै अन्तिम समयमा पंकज र रामप्रवेशका नाम समावेश गरी उम्मेदवारी गराएको थियो ।

काँग्रेसको धनुषा संसदीय क्षेत्र नम्बर ३ का सभापति धीरेन्द्रकुमार निधिले कार्यपालिका निर्वाचनमा पार्टीभित्र अन्तर्घात भएको कुरालाई अस्वीकार गरे । उनले कार्यपालिका सदस्यको टुंगो पार्टी प्रदेश समितिले लगाएको हुँदा त्यसको प्रतिक्रियामा प्रतिपस्र्धी पार्टीका उम्मेदवारलाई काँग्रेसका सदस्यसमेतको मत गएको दाबी गरे ।

यता, प्रदेश समितिका सदस्य जीवनाथ चौधरीले भने काँग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका स्थानीय नेताहरूले एमाले उम्मेदवारका पक्षमा मत मागेकाले तिनीहरूविरुद्ध अनुशासनको कारबाही हुनुपर्ने माग गरे ।

कार्यपालिका सदस्य उम्मेदवारका विषयमा काँग्रेसका जिल्ला र प्रदेश कमिटीका बीचमा मतभिन्नता हुँदा पार्टी केन्द्रीय कार्यालयबाट अधिकृत व्यक्ति तोकिएका प्रदेश उपाध्यक्ष चन्द्रशेखर यादवले अल्पसँख्यक र दलित कलस्टरमा राकेशविक्रमसहित महतो तथा ठाकुरका नाममा आधिकारिक उम्मेदवार भएको पत्र पठाएका थिए । त्यसअनुसार निर्वाचन अधिकृतको कार्यालयले उनीहरूको उम्मेदवारी कायम गरेको थियो ।

जनकपुरधामका चर्चित सञ्चारकर्मी घनश्याम मिश्रका अनुसार कार्यपालिका सदस्य निर्वाचनमा काँग्रेसका ६९, एमालेका ३६, जसपा नेपालका ३, लोसपाका १०, तमलोपाका एक, नेकपा माओवादी केन्द्रका एक र स्वतन्त्रका छ मतभार रहेका थिए ।
महिलातर्फ भने काँग्रेसका फुलकुमारी देवी(६२ मत), मनीषाकमारी देवी(६७) मत, शारदा पन्त(६८), शैलकुमारी चौधरी(६१) र सञ्जुदेवी(६०) मत ल्याएर विजयी भएका छन् ।

कार्यपालिका सदस्य निर्वाचनसँगै जनकपुरधाम उपमहानगरका मेयर र पूर्वकाँग्रेसी मनोज साह कार्यपालिका सदस्यमा एक मतले अगाडि भएका छन् ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!