जनकपुरधाम, १३ कात्तिक ।
नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री रामकृष्ण यादवले पार्टीभित्र गणेश प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै महाधिवेशनक्रममा सक्रिय, इमान्दार निष्ठावान नेताकार्यकर्तालाई छनोट गर्न पार्टीकर्मीहरूसँग आह्वान गरेका छन् ।

धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर २ चोराकोयलपुरमा पार्टीको भ्रातृसंस्था तरुण दलद्वारा शनिबार आयोजित कार्यक्रममा नेता यादवले पार्टी महाधिवेशनमा बिलम्व हुनु चिन्ताजनक रहेको औंल्याए । उनले समयमै पार्टी महाधिवेशन हुनुपर्ने पनि बताए ।
कम्युनिस्टहरूको सरकारले विगतमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालगायत राज्यका सबै अंगलाई ध्वस्त पार्ने काम गरेको आरोप लगाउँदै नेता यादवले संविधानको संरक्षण तथा सम्वद्र्धन, राजनीतिक स्थिरता, दिगो विकास लक्ष्य प्राप्ति र शान्तिसुरक्षा आदि विषयलाई काँग्रेसले मात्र सम्बोधन गर्न सक्ने दाबी गरे ।
उनले समयक्रममा सबै राजनीतिक दलले देशको सत्ता सञ्चालन गरे पनि जनताका आकांक्षाको सम्बोधन काँग्रेसले मात्र गर्न सकेको बताउँदै काँग्रेसको विकल्प खोज्न नसकिनेमा जोड दिए ।
कार्यक्रममा अन्य दल परित्याग गरेर आएका करिब दुई सय युवा काँग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा पूर्वसांसदहरू शिवधारी यादव, दिनेशप्रसैला यादव र मुक्ता यादव, तरुण दल धनुषाका अध्यक्ष सञ्जयलाभ कर्ण, उपाध्यक्ष राकेशविक्रमलगायतका नेताहरूले शुभकामना साटासाट गरेका थिए ।
