जनकपुरधाम, १४ मंसिर ।
नेपाली काँग्रेसको जारी महाधिवेशनक्रममा प्रदेश २ समिति सदस्यमा धनुषाबाट जीवनाथ चौधरीले सदस्य पदको चुनाव लड्ने घोषणा गरेका छन् । चौधरी पार्टी प्रदेश सभापति पदका आकांक्षी रामसरोज यादव निकटका नेता हुन् ।
धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को २ बाट प्रदेशसभामा सर्वसम्मतले चयन भएका चौधरी नेता यादवकै सूचीमा परेर पार्टी उपसभापति विमलेन्द्र निधिबाट अनुमोदित भएर प्रदेशसभा प्रतिनिधि भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बाट भने उनी मतदान प्रक्रियाबाटै क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए ।
प्रदेश २ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रहेका नेता यादवका सल्लाहकार समेत रहेका चौधरी यतिबेला प्रदेश सभापति पदका आकांक्षी यादवकै चुनावी तयारी गरिरहेका छन् ।
स्थानीय तह निर्वाचनमा पार्टी प्रदेश समितिको भूमिका महत्वपूर्ण र निर्णायक मानिएका बेला चौधरीलगायत अन्य नेता पनि प्रदेश समितिका विभिन्न जिम्मेवारीमा पुग्न कसरत गरिरहेका छन् ।
