जनकपुरधाम, २२ कात्तिक ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजदिकिँदै गर्दा उम्मेदवारहरुले आफ्नो नाम उम्मेदवारीका लागि घोषणा गर्न थालेका छन् ।
सो क्रममा पर्साको सदरमुकाम समेत रहेको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्जका लागि उम्मेदवारी घोषणा गर्दै उम्मेदवारका रुपमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान अगाडी देखिएका छन् ।
नेपाली कांग्रेसको वीरगञ्ज महानगरपालिका कार्य समितिको सभापति पदमा दीपेन्द्र चौहानले उम्मेदवारी घोषणा गरेका हुन् ।
चौहानले आफ्नो उम्मेदवारी घोषणा गर्दै पार्टीको संगठन निर्माण र नेपाली कांग्रेसलाई महानगरमा एक नम्बरको शक्तिमा स्थापित गर्न आफूले पार्टीमा रहेर काम गर्ने निर्णय गरेको बताए ।
नेपाल प्रेस यूनियनका नेता समेत रहेका चौहान नेपाल पत्रकार महासंघको पर्सा जिल्ला अध्यक्ष, पत्रकार महासंघ प्रदेश २ को अध्यक्ष हुँदै अहिले महासंघको केन्द्रिय समावेशी सचिव छन् ।
पत्रकार चौहानले आफूले चुनाव जितेपछि कांग्रेस पार्टीलाई वीरगञ्जमा प्रमुख राजनीति शक्तिको रुपमा स्थापित गर्ने जनाएका छन् । उनले कांग्रेसलाई आमजनताको संकट र सुख दुःखमा साथ रह्ने खालको पार्टी बनाउनेमा प्रतिवद्धता व्यक्त गरे ।
