जनकपुरधाम, २० कात्तिक । पापपुण्यको लोखाजोखा गरी न्याय गर्ने धर्माधिकारी भगवान् चित्रगुप्तको आज पूजनोत्सव देश तथा विदेशमा धुमधामका साथ मनाइँदैछ ।
आजका दिन चित्रगुप्तका सन्तान मानिने कायस्थहरूसँगै अन्य हिन्दु धर्मावलम्बीले श्रद्धाभक्तिका साथ चित्रगुप्त महराजको प्रतिमा प्रतिस्थापन गरी सामूहिक पूजाअर्चना गर्ने गर्दछन् । साथै घरघरमा समेत भगवान्को चित्रगुप्तको पूजाआजा गर्ने गरिन्छ । कायस्थहरू आजका दिन कलमदवातको प्रयोग गर्दैनन् ।
कायस्थ कुलको इष्टदेव चित्रगुप्त सृष्टिका प्रथम न्यायाधीश र न्यायदेवका रूपमा पूजित छन् । मनुष्यको मृत्युपछि पृथ्वीमा उनले गरेका कामका आधारमा स्वर्ग या नर्कवासको निर्णय गर्ने अधिकार चित्रगुप्तसँग रहेको वेद तथा पुराणमा उल्लेख छ ।
परम्पिता ब्रह्माको अंशबाट उत्पन्न र यमराजका धर्माधिकारी चित्रगुप्त महाराजका हातमा कर्मको किताब, कलम र करनाल रहने गर्दछ ।
पौराणिक कथाका अनुसार, सृष्टि निर्माण गर्ने उद्देश्यले भगवान् विष्णु आफ्नो योगमायाबाट सृष्टिको कल्पना गर्दा उनको नाभिबाट एउटा कमल निस्कियो । जसमा एउटा पुरुष आसिन थिए । ती पुरुषको उत्पति ब्रह्माण्डको रचना र सृष्टि निर्माण गर्ने उद्देश्यले भएको हुँदा ब्रह्मा कहलिए । यिनले सृष्टि निर्माणक्रममा देव, असुर, गन्धर्व, अप्सरा, स्त्रीपुरुष, पशुपक्षीको जन्म दिए । यसक्रममै यमराजको जन्म भयो । धर्मअनुसार यमराजलाई जीवलाई सजाय दिने अधिकार प्राप्त थियो ।
देव, दानव र ऋषि समान शक्तिका भएको हुँदा यमराजले ८४ लाख योनिका कार्य ठिक ढंगले गर्न सकिरहेका थिएनन् । त्यसपछि यमराजकै आग्रहमा एघार हजार वर्षको तपस्यापछि आँखा खोलेका ब्रह्माले आफूसामु चित्रगुप्तलाई भेटाएका थिए ।
बह्माले सृष्टि निर्माण सम्भव बनाउन कायाभित्र गुप्त रूपमा बास गरिरहेका ती श्याम वर्णका पुरुषलाई चित्रगुप्त नामकरण गरी आफू समान शक्ति भएको बताउँदै तीनवटै लोक सञ्चालन गर्न ८४ लाख योनिको लेखाजोख ागर्न, जन्ममरणको हिसाब गर्न र मुक्ति तथा जीवन दिने अभिारा दिए ।
बह्माजीले भगवान् चित्रगुप्तबाट वैदिक यज्ञ सम्पन्न गर्न लगाए । त्यस यज्ञबाट दुईवटा कन्या उत्पन्न भए, तिनलाई भगवान् चित्रगुप्तसँग विवाह गराइयो । दुवै कन्यालाई
कन्यादानका लागि मनु र ऋषिलाई चयन गरियो । ती दुवै कन्याबाट १२ पुत्रको प्राप्ति भयो । यी १२ पुत्र कायस्थ नामले विख्यात छन् ।
एउटा अर्को मान्यताअनुसार परम्पिता बह्माका १३ पुत्र ऋषि र १४ औं पुत्र चित्रगुप्त देव हुन् ।
भगवान् चित्रगुप्तका विषयमा स्वामी विवेकानन्दको कथन छ,‘म त्यो भगवान् चित्रगुप्तको सन्तान हुँ जसलाई पूजा नगरी बाह्मणले पनि मुक्ति पाउन सक्दैनन् । बाह्मण ऋषिपुत्र हुन् र कायस्थ देवपुत्र ।’
