जनकपुरधाम, ८ कात्तिक ।
जनता समाजवादी पार्टी(जसपा) नेपालको सिरहा राजनीतिमा नयाँ मोड आएको छ । विभिन्न गुटउपगुटमा विभाजित पार्टी नेताहरूबीच एकअर्कालाई उछिन्ने, होच्याउने र अन्ततः तेजोबध गर्ने जुहारी नै चलेको छ ।
सिरहाको संसदीय निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले त्यस क्षेत्रका पार्टी नेताहरूसँग सल्लाह नै नगरीकन गृहक्षेत्रमा कार्यक्रम राखिरहँदाको असन्तुष्टि तथा आक्रोश जिल्ला तहमै प्रकट भएको छ ।
जिल्ला तहका नेताहरूले कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएपछि जिल्लाको क्षेत्र नम्बर १ स्थित लक्ष्मीपुर पतारीमा आज हुने पार्टीका प्रदेश समिति सदस्यहरूको अभिनन्दन समारोहमा जानबाट नेता यादव रोकिएका छन् ।
पार्टीका केन्द्रीय सदस्य राजु गुप्ताको आयोजनामा हुने भनिएको कार्यक्रमका लागि आमन्त्रणपत्र समेत बाँडिसकिएको थियो । तर, पार्टी जिल्ला कार्यसमितिका पदाधिकारीहरूले यादवको प्रमुख आतिथ्यमा हुने भनिएको कार्यक्रम बहिष्कार गर्ने उर्दी जारी गरेपछि कार्यक्रममा सहभागी हुनबाट नेता यादव रोकिएका हुन् ।
पार्टीका जिल्ला तहका नेताहरूले यादव पार्टीका जिम्मेवार व्यक्तिसँग सल्लाह नगरी व्यक्तिगत संगठन बनाइरहेको आरोप लगाउँदै आएका छन् । ‘उहाँ हठी, अटेर र एकलौटी हिँड्ने स्वाभावका हुनुहुन्छ । उहाँमा पार्टीका अन्य नेतासँग समन्वय गर्ने बानी छैन । त्यसैले हामीले उहाँको प्रमुख आतिथ्यमा हुने कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका हौं,’ पार्टीका एक जिल्ला तहका पदाधिकारीले बताए ।
पार्टीका जिल्ला अध्यक्ष अशोक यादवले भने लक्ष्मीपुर पतारीको कार्यक्रममा राजकिशोर यादव सहभागी हुने आफूहरूलाई कुनै सूचना नरहेको बताए । उनले त्यहाँ प्रदेश समितिका सदस्यहरूको अभिनन्दन हुने कार्यक्रम रहेको र कार्यक्रममा राजलाल यादवसहितका नेताहरूको सहभागिता रहने जानकारी दिए ।
स्रोतका अनुसार राजकिशोर यादवले कार्यक्रममा सहभागी नहुने जनाउ दिएपछि पार्टीको जिल्ला पदाधिकारीहरूले कार्यक्रम बहिष्कारको निर्णय फिर्ता लिएका थिए ।
नेता राजकिशोरको कार्यक्रममा सहभागिता भएको खण्डमा पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूलाई रोक्न वैकल्पिक रणनीतिसमेत बनाइएको थियो । लक्ष्मपुरपतारीका कार्यक्रमकै बेला लहानमा अर्को कार्यक्रम गरी प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई बोलाइएको छ । साह सिरहा जिल्लाको पार्टी वृत्तमा लोकप्रिय मानिन्छन् ।
नेता राजकिशोर यादवले भने लक्ष्मीपुर पतारीका कार्यक्रमका विषयमा आफू जानकार नरहेको बताए । उनले भने, ‘अहिले पूजाअराधनाको बेला हो । म गाउँटोलमै छु । कतै मेरो प्रमुख आतिथ्यमा कार्यक्रम हुने भन्ने विषयमा मलाई जानकारी छैन ।’
