प्रशोधक
जनकपुरधाम, १३ मंसिर ।
प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो आजबाट मन्त्रालयको कार्यारम्भ गर्दैछन् । नेपाल सरकारले सहसचिव महतोलाई प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा पदस्थापित गरेपछि उनी आजबाट कार्यारम्भ गर्न थालेका हुन् ।
निजामती सेवाका प्रखर, प्रतिभाशाली र ऊर्जावान् अधिकारी मानिएका महतो शाखा अधिकृतबाट सोझै सहसचिवका लागि लोकसेवा आयोगबाट सिफारिस भएका थिए । धनुषा जिल्लाको नकटाझिजमा जन्मिएका ४० वर्षीय महतोले दुई कक्षापछिको अध्ययन सर्लाहीस्थित विभिन्न विद्यालयमा गरेका हुन् ।
उनी जनकपुरस्थित राराब क्याम्पसबाट वाणिज्यशात्रमा स्नातकोत्तर गरेका छन् । उनी राजनीतिशास्त्र र समाजशास्त्रका समेत स्नातकोत्तर हुन् । कानुनमा स्नातक महतो सहसचिव भएलगत्तै कञ्चनपुर र त्यसपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारीसमेत भइसकेका छन् ।
मन्त्रालयको कार्यारम्भ गर्नुपूर्व महतोले प्रदेशभित्र शान्तिसुरक्षा र सुव्यवस्था कायम गर्ने, नागरिक अधिकार संरक्षण गर्ने र संविधान तथा कानुन तहत प्राप्त अधिकारको अधिकतम उपयोग गरी मन्त्रालयका कामको प्रभावकारिता र परिणाममा वृद्धि गर्ने बताए ।
उनले आपराधिक क्रियाकलापलाई रोकथाम तथा नियन्त्रण गर्न प्रदेश प्रहरीले स्वरूप ग्रहण नगरुञ्जेल नेपाल प्रहरीलगायतका सुरक्षा निकायसँग समन्वयलाई थप सुदृढ बनाउने जानकारी दिए ।
सचिव महतोले सञ्चार फाँटलाई जनहितकारी बनाउन सञ्चारमाध्यम र सञ्चारकर्मीहरूका अपेक्षाका आधारमा मन्त्रालयले साधनस्रोत र वृत्तिविकासका कार्यमा सहकार्य गर्ने उल्लेख गरे ।
