जनकपुरधाम, २६ कात्तिक ।
जनकपुरधामको प्रतिष्ठित र सुविधासम्पन्न काव्या अस्पताल प्राइभेट लिमिटेडले आगामी सातादेखि न्युरो सर्जरी सेवा आरम्भ गर्दैछ ।
न्युरो सर्जरी सेवा अभावमा आकस्मिक दुर्घटना वा अन्य कुनै कारणले मस्तिष्कमा देखापर्ने स्वास्थ्य समस्यामा उपचारका लागि जनकपुरधाम र वरपरका जिल्लाका बासिन्दालाई विराटनगर, काठमाडौं वा भारतीय क्षेत्रस्थित अस्पतालमा जानु परिरहेको थियो ।
काव्या अस्पतालले न्युरो सर्जरी सेवा सुरु गरेसँगै अब जनकपुरधाम र समीपवर्ती जिल्लाका बासिन्दालाई न्युरोसम्बन्धी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।
गाउँघरभन्दा टाढाका अस्पतालमा उपचार गराउने प्रक्रिया निकै झन्झटिलो र महँगो हुने हुँदा काव्याले जनकपुरधाममा आरम्भ गर्ने न्युरो सर्जरी सेवाबाट उल्लेख्य सँख्यामा बिरामी र उनका आफन्त लाभान्वित हुने विश्वास अस्पताल व्यवस्थापनले व्यक्त गरेको छ ।
काव्या हस्पिटलमा न्युरो सर्जरी सेवामा प्रादेशिक अस्पताल जनकपुरधामका विषेशज्ञ डाक्टर हेमन्तकुमार साह नेतृत्वको टोली संलग्न हुनेछ ।
काव्या हस्पिटलमा चिकित्सासम्बद्ध अन्य विभागमा पनि दक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरूद्वारा उपचार गरिँदै आएको छ । विभिन्न रोग निदान तथा उपचारमा प्रयोग हुने अत्यावश्यक स्वास्थ्य उपकरणसहितको यो अस्पताल सरसफाइलगायतमा प्रदेश २ कै अग्रणी स्वास्थ्योपचार संस्था मानिन्छ ।
