अहिलेका


कृषिमन्त्री यादवले सातवटै प्रदेशका कृषि मन्त्रीसँग छलफलमा

जनकपुरधाम, ९ कार्तिक ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले सातवटै प्रदेशका कृषि मन्त्रीहरुसँग छलफल सुरु गरेका छन् । सिंहदरबारस्थित कृषि मन्त्रालयमा बैठक सुरु भएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश सञ्जेलले बताए । देशमा आएको बाढी पहिरोका कारण भएको क्षति तथा पीडित किसानलाई दिइने राहत एवं क्षतिपूर्तिको बारेमा छलफल हुने उनले बताए ।

सातवटै प्रदेशको प्रारम्भिक क्षति विवरण मन्त्रालयमा आइपुगेको छ । प्रारम्भिक क्षतिको आधारमा अरु थप के गर्न सकिन्छ, तत्काल राहत कसरी र कति दिने, थप क्षतीपूर्ती दिनका लागि कस्तो प्रकृया अपनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । पीडित किसानलाई राहत दिनका लागि संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय हुने मन्त्रालयले जनाएको छ ।

सातवटै प्रदेशका कृषि मन्त्रीहरुको धारणा सुनिसकेपछि संघीय सरकारले पिडित किसानहरुका लागि राहत तथा क्षतिपूर्तिको व्यवस्थामा लाग्ने बताइएको छ । हिजो मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि मन्त्री यादवसँग बाढीका कारण देशभरि कृषिमा भएको क्षति बारे जानकारी लिएकी थिइन् । राष्ट्रपति कार्यालयमा बोलाएर क्षतिको बारेमा ब्रिफिङ सुनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले किसानलाई तत्कालिन राहत प्रदान गर्न सुझाव दिएको बताइएको छ ।

हालसम्म कृषि मन्त्रालयलाई प्राप्त विवरण अनुसार बाढीले धानमा मात्र साढे आठ अर्बको क्षति गरेको छ । प्रारम्भिक विवरण अनुसार साढे दुई लाख मेट्रिकटन धानमा क्षति पुगेको छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!