चाडबाडपछि कोराना कहर सुरु हुने आशंका
जनकपुरधाम, २८ असोज ।
चाडबाडकै बेला वा त्यसपछि कोरोना संक्रमण तीव्र गतिमा फैलिने आकलन गरेर प्रदेश २ को सामाजिक विकास मन्त्रालयले मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउँदै आवश्यक व्यवस्थापकीय कार्य गर्न निर्देशन दिएको छ ।
सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशका कोभिड अस्पतालहरूका अवस्थाबारे जानकारी लिँदै ती ठाउँमा भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन सुदृढ गर्न निर्देशन दिएको उनका स्वकीय सचिव राजकुमार यादवले बताए ।
‘मन्त्रीज्यूले शुक्रबार अस्पतालका अधिकारीहरूलाई फोन सम्पर्क गरेर जतिसुकै सँख्यामा सम्भावित कोभिड संक्रमित आए पनि गुणस्तरयुक्त उपचार व्यवस्थाका लागि त्वरित गृहकार्य गर्न र चनाखो भएर बस्न निर्देशन दिनुभएको छ,’ यादवले भने ।
मन्त्री साहले उपकरण र जनशक्ति अभावका नाममा बिरामीको उपचारमा हेलचक्रयाइँ सह्य नहुने बताउँदै तिनका विषयमा सूची तयार गर्न र उपलब्धता हेर्न पनि भनेका यादवको भनाइ छ ।
‘कोभिड उपचारका लागि प्रदेश सरकार तयार अवस्थामा छ । फाटफुट अहिले पनि उपचार भइरहेकै छ । तर, बिरामीको सँख्या अचानक बढे पनि समस्या हुन नदिन प्रबन्धनका बारेमा मन्त्रीज्यूले चासो लिनुभएको हो,’ यादवले भने ।
कोरोना संक्रमण नसकिएको र चाडपर्वका बेला मानिसले सुरक्षा सतर्कता नअपाइरहेकाले यो महामारी फेरि फैलिने स्वास्थ्यविज्ञहरुले अनुमान गरेका छन् । लुम्बिनी प्रदेशमा दुई दिनयता कोरोना संक्रमितको सँख्या हवात्तै बढेको छ ।
जनकपुरधामको मुजेलियास्थित सय बेडको कोभिड अस्पताल बिरामी उपचारका लागि तयार अवस्थामा रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साहले सय बेडको अस्पतालमा २० वटा सघन उपचार कक्ष र दसवटा भेन्टिलेटर व्यवस्थापन गरिएको बताए । उनले उपचारका लागि अहिले पर्याप्त जनशक्ति रहेको र आवश्यकताअनुसार जनशक्ति थप्न सकिने उल्लेख गरे ।
सो कोभिड अस्पताल प्रतिष्ठानले सञ्चालन गर्दै आएको छ । अहिले यस ठाउँमा एक–दुईजना कोभिड संक्रमित उपचार गराइरहेका छन् ।
डा.साहले अस्पतालमा कार्यरत जनशक्तिको यकिन सँख्या भन्न नमाने पनि ८० देखि ८८ जना चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य प्राविधिक यस अस्पतालमा कार्यरत रहेको अनुमान गरिएको छ ।
यता कोरोना कहरका दुई चरणमा संक्रमितको उपचारका लागि प्रादेशिक राजधानीका एकमात्र सरकारी अस्पताल प्रादेशिक अस्पतालको कोभिड वार्ड बन्द गरिएको छ । कोभिडका बिरामी नहुँदा अस्पताल बन्द गरिए पनि बिरामी आएसँगै सञ्चालनमा ल्याइने प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवले बताए ।
प्रादेशिक अस्पतालमा समेत सय बेडको कोभिड वार्ड छ । तीन सयवटा अक्सिजन सिलिन्डर छन् । २४ घन्टामा डेढ सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने अक्सीप्लान्ट स्थापना गरिएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा.यादवका अनुसार अस्पतालमा आठवटा भ्यान्टिलेटर, अक्सिजन र मनिटरसहितको दस आइसियु र थप दस बेडमा आइसियु रहेको जानकारी दिए ।
उनले कोभिड अस्पतालका लागि अहिले छुट्टै थप जनशक्ति नरहे तापनि आवश्यक पर्दा पहिले भर्ना गरिएका जनशक्तिलाई पुनर्भर्ना गरिने बताए ।
