जनकपुरधाम, २० कात्तिक ।
‘गंगा नोतय छथि यमुना के, हम नोतय छी भाई केँ
जहिना जहिना गंगा–जमुना केँ धार बहय, हमर भाय सभक औरदा बढय’
दाजुभाइ र दिदीबहिनीबीचको प्रेम तथा स्नेहाभिव्यक्तिको प्रतीक पर्व भरदुतिया(भ्रातृद्वितिया) आज जनकपुरधामसहित मिथिलाञ्चलमा मनाइँदैछ । आजका दिन दिदीबहिनीहरूले दाजुभाइलाई निम्तो दिएर घर बोलाई टिका लगाउने गर्दछन् ।
आँगनमा षट्दल कमल अरिपन दिएर पवित्र पिर्कामा समेत सिन्दुर पिठार(चामल पिठोको घोल) बाट अरिपन दिएर कुभिन्डोको फूल, सिन्दुर, पिठार, डाँठ लागेका पानका पात, सुपारी, साना दक्षिणी, हरीर, जाफर, मखान र द्रव्यको प्रबन्धन दिदीबहिनीले गर्दछन् ।
त्यसपछि दाजुभाइको गोडा पखालेर पिर्कामा बसाई पिठारको चन्दन र सिन्दुरको लेप लगाउँदै हत्केलामा पिठार र सिन्दुर लगाएर पानसुपारी राखेर जलाभिषेक गर्दै ‘गंगा नोतय छथि यमुना…. उच्चारण गर्दै सबै सामग्रीलाई माटाको भाँडोमा खसाउने गर्छन् । यस प्रक्रियालाई नोत भनिन्छ ।
दिदीबहिनीले दाजुभाइलाई तीनपटक नोत्ने गर्छन् । त्यसपछि दाजुभाइको हात पुछपाछ गरी मखान खुवाउने गर्छन् । दाजुभाइले दिदीबहिनीलाई उपहार दिने गर्छन् ।
नोत सकिएपछि दाजुभाइलाई भोजन गराउने परम्परा छ । यसले दाजुभाइको आयु बढ्ने विश्वास गरिन्छ । त्यसपछि पान खानाले दिदीबिहिनीको सौभाग्यवृद्धि हुने लोकविश्वास छ ।
भगवान् सूर्यपुत्री यमुना आफ्ना भाइलाई नोत लिएको दिनबाट भरदुतिया सुरु भएको लोकोक्ति छ ।
