अहिलेका


गजेन्द्रबाबुको बीज रहँदासम्म मधेसवादलाई कसैले छुन सक्दैन : पाण्डेय

रमणकुमार पाण्डेय लाकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका अत्यन्त प्रखर, प्रतिभाशाली र बौद्धिक नेता हुन् । तीन दशकभन्दा बढी समयदेखि अविचलित र अडिग भएर मधेसवादप्रति समर्पित रहँदै मधेसका माग र मुद्दाका पक्षमा वकालत गर्दैआएका छन् । प्रशोधक डटकमका लागि अनिलकुमार कर्णले पाण्डेयसँग केही दिनअघि कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको संक्षेप ।

आम निर्वाचनका क्रममा जसरी मधेसकेन्द्रित दलहरू छुट्टाछुटै गठबन्धनमा आबद्ध भए यसले मधेसवादलाई ठूलो झट्का लाग्यो । हैन ?
मधेसवादको औचित्य हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । दुई किसिमका व्यक्ति मधेसवादमा छन् र आए । एक यस्ता जोहरूले विशुद्ध क्रान्ति गरे । अर्का यस्ताहरू आए जो क्रान्तिबाट फाइदा उठाए । क्रान्तिबाट फाइदा उठाउनेहरूका कारण निश्चित रूपमा सतही ढंगले देखिन्छ कि विभेदविरूद्धको संघर्ष र समानता प्राप्तिको जारी लडाइँ अलिक मत्थर भएको छ । तर यो लडाइँ न समाप्त भएको छ न समाप्त हुन्छ नै । म दाबीका साथ भन्न सक्छु कि मधेसवाद अझ प्रखर रूपमा स्थापित हुन्छ । र, यो देशमा मधेसी र पहाडी जनजातिको जति प्रतिशत समानुपातिक अधिकार छ, त्यो नलिँदासम्म मधेसवादले विराम लिँदैन । सद्भावना पार्टी स्थापित भएकै बेलादेखि लोसपाको यात्रासम्ममा हामी भन्दैछौं एकथरीका लागि सत्ताभत्ता महत्वपूर्ण हुनसक्छ तर पार्टीका लागि मिसन भनेकै मधेस हो ।

तर, विगतमा मधेसकेन्द्रित दलहरूका लागि मुख्य प्राथमिक्ता नै सत्ताभ्यास रह्यो होइन ?
हाम्रा पार्टीका नेतृत्व गर्नेहरूले सत्ताभत्ताबाट सरोकार राखेनन् । मधेसको लडाइँका लागि जुनजुन संयन्त्र र उपकरण प्रयोग गर्नुपर्ने थियो त्यो नै गरिएका हुन् । हो कहीँकतै यसको दुरूपयोग भएको हुनुपर्छ । यस्तो गर्नेहरूले सजाय पाउने नै छन् । हामीले २२ जिल्लाको मधेस बनाउन निस्केका थियौं । भित्रि मधेस अर्थात् उदयपुर र सिन्धुलीसहितको मधेस । त्यसलाई हिजो आठ जिल्लामा सीमित गरियो । अन्य जिल्लालाई टुहुरा । मधेस प्रदेश स्थापना भएका दिन मजस्ता केही व्यक्तिहरूले जनकपुरधामको जनकचोकमा कोणसभा गर्यौं । र, भन्यौं कि यस भूगोलको नामकरण मध्यमधेस हुनुपर्छ । मध्यमधेस भएको भए केही सन्तुष्टि हुन्थ्यो । मधेस भनेर हामीलाई सन्तुष्टि भएन । विकृत संघीयता आयो, स्वीकृत संघीयता त्यो दिन आउँछ जुन दिन २४ जिल्लाको मधेस बन्छ । म भन्न चाहन्छु, जुन किसिमको समानुपातिक अधिकारका लागि लडाइँ छ । त्यो विराम लिँदैन, लिने आवश्यकता पनि छैन ।


तर, आठ जिल्लाको मधेस प्रदेशमा लोसपा नेपालको पनि सहमति थियो नि ?
पार्टीका नेताहरूले पटकपटक भन्नुभएको छ कि आठवटा जिल्लाको मधेस प्रदेशलाई प्रस्थानबिन्दुका रूपमा लिनुस् । अनिलकुमार झा र राजेन्द्र महतोजीले पटकपटक भन्नुभएको छ कि यो हाम्रो प्रस्थानबिन्दु हो । जीवन्त पार्टी त्यही हुन्छ जसमा विचारविमर्शको स्वतन्त्रता हुन्छ । त्यसमा सबैका समान विचार हुन्छ भन्ने छैन । म ३३ वर्षदेखि मधेसवादको सिपाही हुँ । मैले सुरुदेखि भन्दै आएको छु पार्टीलाई सत्ताभत्ता र चुनावको पछाडि त्यतिन्जेल जानु हुँदैन जबसम्म नगदमा हामीलाई सबै अधिकार प्राप्त हुँदैन । हामी मधेसलाई २२ र २४ जिल्लामा लान चाहन्छौं ।
सद्भावना पार्टीमा हुँदा मैले केन्द्रीय सहमहासचिवका हैसियतले प्रस्ताव गरेको थिएँ कि जबसम्म अधिकार प्राप्त हुँदैन, सिँहदरबारलाई हाम्रा माग र मुद्दा सम्बोधन गर्न बाध्य बनाऔं । चुनाव बहिष्कार गरौं । मधेसी र जनजाति बाहुल्य क्षेत्रमा चुनाव हुन नदिऔं । हाम्रो पार्टीभित्रमै चुनावका पक्षधरहरू थिए । म त अहिले पनि भन्छु चुनावबाट कहिल्यै मधेसले अधिकार पाउँदैन, संसद् बनेर अधिकार पाइँदैन । संविधानको संशोधनबाट अधिकार पाइँदैन । क्रान्ति गर्ने र क्रान्तिबाट फाइदा उठाउने सबै पार्टीमा एउटा तप्का हुन्छ । तिनका बीचमा संघर्ष त हुन्छ नै ।

भनेपछि तपाईंका माग पार्टीभित्र अनुमोदित नभएकै हो ? नेतृत्व क्रान्तिको लडाइँबाट हटक हुँदा कसरी अधिकारप्राप्तिको बाटो प्रशस्त हुन्छ ?
मधेसका माग र मुद्दालाई सम्बोधन गराउन नसक्ने नेतृत्व विस्थापित हुन्छ । मधेस रोकिँदैन । मधेसका युवक रोकिनेछैनन् । हो, पार्टीभित्र मेरो लाइन अनुमोदन भएको छैन । तर म माँ मधेसको मुक्तिका लागि जन्मिएको हुँ । मेरा आवश्यकता कम छन् । मलाई सत्ताभत्तासँग सरोकार छैन । म अनिलकुमार झा र राजेन्द्र महतोलाई पनि आफ्नो लाइनसँग निकट मान्छु । त्यसैले पटकपटक उहाँहरूको नाउँ लिइरहेको छु । संविधानसभाको अन्तिम क्षणमा सद्भावना पार्टी र तिर छाप थियो । संविधानसभाबाट केही भएन, राजीनामा दिउँ भन्दा मैले हेरेँ कि हाम्रा पार्टीका सांसदहरूले राजेन्द्र महतोले राजीनामा दिन्छन् भने दिऊन्, हामीचाहिँ दिन्नौं भन्ने थिए । म त नाउँ भन्छु तिनका, लेख्छु । अल्मतमा परेका धेरैथोक छन् हामीसँग । एकपटक मैले लिखित रूपमै हाम्रा आदरणीय अध्यक्षज्यूलाई संघीय राजधानी काठमाडौंबाट परिवर्तन गर्नुपर्ने माग अघि सारौं भनेको थिएँ । देशमा लोकतन्त्र र गणतन्त्र आयो, पञ्चायती तानाशाही व्यवस्था सकियो । मधेसलाई १४ जिल्लाभित्र कुन्ठित हुनुपर्यो । त्यसैले संघीय राजधानीलाई नारायणघाट, नवलपुर वा नवलपरासी लिएर जाऔं भनेको थिएँ । मधेसी र पहाडी सबैलाई नजिक पर्ने पूर्वपश्चिम र उत्तरदक्षिण सबैलाई ठिक्क हुने ठाउँमा संघीय राजधानी लानुपर्ने प्रस्तावका उत्तर पार्टीको बैठक सात दिनसम्म चल्दा पनि कसैले दिएनन् । तर, म मेरो अडानमा कायम छु । आज न भोलि यो देशको संघीय राजधानी परिवर्तित हुन्छ ।

अहिले चुनावको मौसम छ । राजनीतिक दलहरू दुई ध्रुवमा विभाजित भएर चुनावमा जाँदैछन् । के हुन्छ ?
निश्चित रूपमा लोकतन्त्र छ र मधेसवाद छ । लोकतन्त्रबिना मधेसवादको कल्पना गर्न सकिँदैन । देशमा देखिएको ओलीसत्ता अर्थात् कम्युनिस्ट सत्ताको सीधा फर्मुला गरीबलाई अझै गरीब र निम्नवर्गीयलाई पनि गरीब बनाउने हुन्छ । गरीबका नेता भन्दै मुठ्ठी कसेर बसेका कम्युनिस्टहरू धनी हुन्छन् । जनकपुरकै उदाहरण लिऔं जनकपुरको धर्ती लोकतन्त्र, न्याय, धर्म र क्रान्तिको धर्ती हो । यो धर्तीमा कम्युनिस्टको कुनै नेता सर्वहारा हुनुपर्नेमा अर्बपति छन् । अर्बपति कहीँ कम्युनिस्टका नेता हुन्छन् । तिनका लागि राजनीति सोख भएको छ, गेम प्ले गर्ने बानी भएको छ । एक हातमा सिन्दुर एक हातमा नागरिकता हुँदैन भन्ने उद्घोष गर्नेहरू ओलीका एजेन्ट हुन् । मधेसमा ओलीका थुप्रा एजेन्ट छन् । यो चुनावमा तिनीहरू परास्त हुनेछन् ।

हिजोसम्म त लोसपा नेपालले पनि ओलीसत्तामा साझेदारी गरेकै थियो नि ?
तपाईंले केही कुरा सकार्नुहुन्छ अनि बाटोमा नै धोखा दिनुहुन्छ भन्ने यसको ठेक्का कसले लिने । ओलीजीले यो देशकै लोकतन्त्रमाथि धक्का पुरयाउन खोज्नुभयो । भनिन्छ, बाँदरका हातमा नरिवल । दुईदुई पटक संसद् विघटन गर्नुभयो । यसलाई जनताले नजिकबाट बुझे । त्यसैले यसपटक पाँचदलीय गठबन्धनले मतादेश प्राप्त गर्नेमा संशय छैन ।

तपाईंका पार्टीका नेताहरू पनि सत्तामा रहनुभयो, त्यसको केही प्रतिअसर त पर्लान् नि ? अनि अहिलेको अवस्थामा लोसपाले थ्रेसहोल्ड कटाउन नसक्ने पनि भनिन्छ ?
हेर्नुस्, ३३ वर्षमा ३३ पटक अवसर पाउँदा पनि म कुनै लाभको पदमा गइनँ । पहिलोपटक यसपालि टिकटको सिफारिस हुँदा त्यो पनि दिइएन । र, खबर पनि भएन कि किन दिइएन । तर, त्यो छुट्टै विषय हो । म मिसन मधेसको सिपाही हुँ । मिसन मधेसको सिपाहीलाई चुनावबाट टाढै रहनुपर्छ ।
अहिले मधेसवादको बीज संकटमा छ । त्यस बीजलाई जोगाउन मैले केही आर्गनिक मधेसवादीका नाम भन्या छु । जस्तै जेजस्ता प्रतिक्रिया भए पनि महन्थ ठाकुर आफैँमा एउटा संस्था हुनुहुन्छ । शरत्सिँह भण्डारी, जो पहाडी परिवारका भए पनि मधेसका हकअधिकारका लागि रक्षामन्त्री पद पनि त्याग्नुभयो । अनिलकुमार झा र राजेन्द्र महतो त मधेसवादका आर्गनिक व्यक्तित्व नै हुनुहुन्छ । उहाँहरूबिना मधेसवाद सोच्न पनि सकिँदैन । अरूहरू आयाराम गयाराम छन् । आउँछन्, फाइदा लिन्छन् । नेपाल सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी(आनन्दीदेवी), संघीय सद्भावना पार्टी, सद्भावना पार्टी, राजपा र लोसपा कयौं नाम छन् । नाम बदलिन्छ, चुनावचिह्न बदलिन्छ । राष्ट्रिय पार्टी बन्छ बन्दैन । तर, विषय, माग र मुद्दा बदलिँदैन । माग र मुद्दा अझै प्रखर रूपमा स्थापित हुन्छ । मलाई त विश्वास छ कि लोसपा राष्ट्रिय पार्टी बन्छ । माग, मुद्दा मर्नु हुँदैन ।

अहिले आएर लाग्दैन कि लोसपा नेपाल र जसपा नेपालजस्ता मधेसवादी पार्टीबीच चुनावी गठबन्धन हुनुपथ्र्यो ? अझ् उपेन्द्र यादवजीले त आफूले त्यसका लागि प्रयास पनि गरेको तर सफल नभएको भन्नुहुन्छ ?
भोक त दुवै पक्षलाई लाग्नुपर्छ नि । उपेन्द्रजीले यस्तो भन्नुभएका बेला त्यहाँ साक्षी को थिए ? सबाल के छ भने ब्ल्याक एन्ड व्हाइटमा केही कुरा भए पो ग्यारेन्टी हुन्छ । सबैजना आआफ्ना फाइदाका विषयमा भनिदिन्छन् । आत्मीय रूपमा मिलेका भए आज लोसपा, जसपा र सिके राउतजीको चुनावी गठबन्धन हुन्थ्यो । मधेसका सबै शक्ति मिल्नुपथ्र्यो । नमिलेर मधेसवादलाई क्षति भएको छ र मधेसका जनताको लडाइँ लम्बिएको छ । हाम्रो पार्टीमा ठूल्ठूला नेता छन् । पार्टीले राउन्ड टेबुल कन्फ्रेन्स गरेर मधेसका माग र नेतृत्वको जवाफदेही तय गर्नुपथ्र्यो । त्यो भएन । व्यक्ति–व्यक्तिका बीचमा कुरा भएका होलान् ।
मधेसले यति लामो लडाइँ लड्ने आवश्यकता थिएन । नगदमा दिने भए देऊ भन्नुपथ्र्यो । अनि किन न दिने । यस देशको राजस्वमा ८० प्रतिशतको साझेदारी हामीले गरेका छौं । सयमा अस्सी रूपैयाँ हाम्रो योगदान छ । अनि २२ जिल्लालाई २० प्रतिशतको रिटर्निंग छ । मधेस प्रदेशमा त १२ प्रतिशतमात्रै छ । १२ प्रतिशतमात्र फिर्ता र त्यसमा पनि यस्ता तिलस्मी मधेसवादीहरू छन् जोहरू सरकारमा रहँदा ४० देखि ५० प्रतिशतको भ्रष्टाचार नै गरे । सत्य मलाई भन्नुपर्छ । तर, सन्तान यदि चोर नै हुन्छन्, परिवार यदि चोर नै हुन्छ भने विकल्प के छ त ? मधेसवादको विकल्प अर्थोक हुन सक्दैन ।

काँग्रेससँगको चुनावी तालमेलबाट मधेसको लडाइँमा फाइदा नै पुग्छ त ?
लोसपासँग आफ्ना माग र मुद्दा छँदैछन् । तर, देश नै गठबन्धनमा गएका बेला पार्टी एक्लो बस्न सक्दैन्थ्यो । गठबन्धन हुँदैमा हाम्रा माग र मुद्दा विसर्जित हुन्छ भन्ने छैन । गजेन्द्रबाबुको बीज जबसम्म धर्तीमा रहन्छ तबसम्म मधेसवादलाई छुने शक्ति रहँदैन ।

 


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!