जनकपुरधाम, ९ कार्तिक ।
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका प्रसाद यादवले गाउँ गाउँमा सिंहदरबारसंगै भ्रष्टाचारले प्रश्रय पाएको बताएका छन् ।
पूर्व मन्त्री समेत रहेका नेता यादवले गाउँगाउँमा सिंहदरबार स्थापना भएमा विकासले फड्को मार्ने बताइएपनि यसले अधिकार भन्दा भ्रष्टाचार बढी गएको बताएका हुन् ।
नेकपा माओवादी केन्द्रले धनुषाको बटेश्वर गाउँपालिकामा आयोजना गरेको जनयुद्धका सहिद रामकरण महतोको १८ औं स्मृतिसभामा बोल्दै नेता यादवले भने, ‘गाउँगाउँका सिंहदरबार आउँदा अधिकारको साथसाथ भ्रष्टाचार आएको छ । यसले जनतामा खासै अधिकारको आएको अनुभूति हुन सकिरहेको छैन’ उनले भने, ‘यदि अधिकार र भ्रष्टाचारलाई तराजुमा जोख्ने हो भने भ्रष्टाचार नै भारी हुन्छ ।’
उनले बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत यसको प्रमाण रहेको बताए । ‘माथि प्रधानमन्त्री हुँदा केपी ओलीले नै भ्रष्टाचारको नेतृत्व गरे । किनभने सिंहदरबार पनि भ्रष्टाचारको केन्द्र छ । त्यहाँबाट गाउँगाउँमा सिंहदरबार पुग्दा भ्रष्टाचार पुग्यो ‘ उनले भने ‘ त्यसको प्रमाण तपाईंहरुकै बटेश्वर गाउँपालिका अध्यक्ष छन् । ८ लाख घुससहित पक्राउ परेका थिए । ओलीले नै छुटाए । भ्रष्टाचारमा माथि ओली सरदार, तल डम्बर सरदार ।’
उनले देशमा सुशासन नभएसम्म जनतामा परिवर्तनको अनुभूति नहुने बताए ।
भ्रष्टाचारको बढामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बताउँदै उनले अगामी चुनावमा एमाले प्रतिगमनकारीको पत्ता साफ हुने दावी गरे ।
त्यस्तै प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले बटेश्वर गाउँपालिका क्षेत्रको भूमिगतकालमा ठूलो फौजी कारबाहीको माओवादीको सेल्टर रहेको चर्चा गरे । उनले सहिदहरुकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले उनीहरुको सम्मान हुनुपर्ने, ठाउँठाउँमा सालिक, सहिद पार्क, प्रतिष्ठान स्थापना हनुपर्ने धारणा राखे ।
नेकपा माओवादी केन्द्र बटेश्वर गाउँपालिका वडा नं. १ का कमिटी अध्यक्ष रामचन्द्र महतोको अध्यक्षतामा भएको सो स्मृति सभामा माओवादी केन्द्र धनुषाका सचिव दीपक यादव, बटेश्वर गाउँपालिका उपाध्यक्ष प्रमिलादेवी महतो, मओवादी नेतृ तथा सहिद रामकरणकी पत्नी तारादेवी महतो, वाइसीएल प्रदेश २ इन्चार्ज शंकर महतो, माओवादी नेता रामकुमार महतो, जागेश्वर महतो, देवसागर दास, वडा नं. १ का अध्यक्ष शैलेन्द्र महतो लगायतले सहिद रामकरणको जीवनीमाथि चर्चा गरेका थिए भने उदघोषण शिक्षक रामवृक्ष महताले गरेका थिए ।
