अहिलेका


गुणस्तरीय शिक्षा विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री शैलेन्द्रप्रसाद साह

लाहान, १९ कात्तिक ।
प्रदेश २ सरकारका अर्थमन्त्री एवम् प्रवक्ता शैलेन्द्रप्रसाद साहले मानव विकास सूचकांकमा प्रदेशको स्थिति सुदृढ बनाउन शिक्षाक्षेत्रमा तीव्र तथा गुणात्मक सुधार आवश्यक रहेको बताएका छन् ।

उनले प्रदेशको शिक्षा व्यवस्थापनमा वर्षौंदेखि हेलचेक्रयाइँ हुँदै आएकाले यहाँका शिक्षण संस्थाहरूबाट पछिल्ला समयमा योग्य एवम् प्रतिस्पर्धी जनशक्ति उत्पादन हुन नसकेको उल्लेख गरे । लहानस्थित जेएस.मुरारका क्याम्पसको निरीक्षण गर्दै मन्त्री साहले प्रदेश २ ले शिक्षासँग जोडिएको वैभवपूर्ण र गोरवशाली अतीत बिर्सेको गुनासो गरे ।

उनले भने, ‘संसारलाई वैदिक र वैज्ञानिक ज्ञानगुण दिने प्रदेश २ कै भूमिले हो । ऋषिमुनि र तपस्वीहरूको थलो प्रदेश २ मा फेरि पनि असल शिक्षा संस्कृतिको विकास गरिनुपर्छ ।’

उनले नेपालकै पहाडी र हिमाली भेगमा मधेसकै शिक्षकहरूले शिक्षाको ज्योति बालेको स्मरण गर्दै प्रदेश २ लाई शिक्षार्जण गर्ने दृष्टिले केन्द्र बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

सिरहाको लहानस्थित जेएस मुरारका क्याम्पसको निरीक्षणपछि सामूहिक तस्बिर खिँचाउँदै प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साह ।

उनले सप्तरीमा कृषि विश्वविद्यालय र पर्सामा प्रविधि विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णय शिक्षा व्यवस्थामा सर्वसाधारणको पहुँच बढाउनका लागि भएको थपे ।

उनले शिक्षा व्यवस्थापनका लागि विद्यमान कानुनी जटिलताहरू हटाउनुपर्ने र शिक्षण प्रणालीको स्वामित्व समुदायले लिनुपर्ने प्रस्ट्याए ।

विद्यमान संवैधानिक र कानुनी व्यवस्थाअनुसार शिक्षाक्षेत्रमा प्रदेश सरकारको नियमन र नियन्त्रणकारी भूमिका नरहे पनि जनअपेक्षाअनुरूप प्रदेश सरकारले पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापनमा शिक्षण संस्थाहरूलाई सघाइरहेको मन्त्री साहले जानकारी दिए ।

मन्त्री साहले आजै लहान–३ स्थित सहिद पार्क, लहान बाल अस्पताल, ललकु. स्कुल र लहान—४ स्थित खेलकुद मैदानको निरीक्षण गरेका छन् ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!