जनकपुरधाम, ८ कात्तिक ।
जिल्लाका प्रमुख सुरक्षा अधिकारी सिडियो र अन्य सुरक्षासम्बद्ध अधिकारीहरू सँगै बसेर तास खेलेको श्रव्यदृश्य सार्वजनिक भएपछि गृह मन्त्रालयले सर्लाहीका ती अधिकारीहरूको लगालग सरुवा गरिरहेको छ ।
गृहले पछिल्लोपटक सर्लाहीका सिडियो रामकुमार महतोको सरुवा गरेको छ । महतोलाई गृह मन्त्रालयमा सरूवा गरिएको हो । महतो कर्मचारीवृत्तमा भने अत्यन्त लोकप्रिय, संघर्षशील र प्रतिभाशाली अधिकारी मानिन्छन् ।
गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारीमा सहसचिव बाबुराम खतिवडालाई पठाएको छ । महतो गएको असारमा कञ्चनपुरबाट सरूवा भएर सर्लाही आएका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीसँग उनले तास खेलेको भिडियो केही समयअघि बाहिरिएको थियो ।
यसअघि गृह मन्त्रालयले सर्लाहीका एसपी सन्तोषसिंह राठौर र सशस्त्रका एसपी गंगाराम श्रेष्ठको सरूवा गरेको थियो ।
प्रहरी प्रधान कार्यालयले सर्लाहीका एसपीमा प्रदेश २ प्रहरी कार्यालयमा कार्यरत कृष्ण प्रसाईंलाई पठाएको छ । त्यसैगरी सशस्त्र प्रहरी एसपी श्रेष्ठको ठाउँमा भरत खनियालाई पठाइएको छ ।
