जनकपुरधाम, २५ कात्तिक ।
आँट, सङ्कल्प र साहस भयो भने एउटा कुरूप, भद्दाभुजरी र रिंग्याउने तस्बिर बदल्न सक्नुहुन्छ । यसका लागि ठूलै हैसियत चाहिन्छ भने हुँदैन । कामप्रतिको लगन, समर्पण र लक्ष्य छुने लालसा हुनुपर्छ । समयले तपाईंको व्यक्तित्वभित्र एकखाले वर्चस्व र प्रभाव दिन्छ बदलावका लागि ।
सिन्धुली जिल्लाको गोलन्जोर –४ की चण्डिका अधिकारी ०७५ वैशाखमा पहिलोपटक जलेश्वर पुगेकी थिइन् । त्यहाँको जिल्ला अस्पतालमा काम गर्न । तर, फोहोरमैलाको डंगुरमा परिणत भइसकेको अस्पताल परिसर, संरचना नयाँ भए पनि पानको पिंकले पोतिएका र धुलोमैलोले कटकटिएका भवन, पुरानाथोत्राझैं देखिने औजारउपकरण, कामभन्दा कचिङ्गमा अल्झने स्वास्थ्यकर्मी र कर्मचारी अनि चर्का स्वरमा बेलाबखत कुर्लने सेवाग्राही ।
अस्पतालको यो चित्रले चण्डिकालाई रोक्न सकेन । उनी फर्किइन् । तर, घर फर्किसकेकी चण्डिकाको मनमा ती विद्रुफ् दृश्य भने घरघरि खेलिरह्यो । आफ्नो गाउँनजिक भुवनेश्वरीको गोलटारमा ‘बर्थिङ सेन्टर’ सञ्चालनका लागि भरमग्दुर प्रयत्न गरेकी र त्यसमा सफल भएकी उनलाई जलेश्वर अस्पतालको दशा सुधार गर्न सकिन्छ भन्ने कुरामा विश्वास लाग्यो ।
अनि उनी ०७५ साउनमा जलेश्वर अस्पताललाई कर्मथलो बनाउने निधो गरिनँ । साथीभाइको प्रेरणा र प्रोत्साहनमा जलेश्वरसम्म आइपुगेकी उनका लागि आउँदा दिन भने सोचेभन्दा बढी कष्टप्रद थियो । सङ्घर्ष र सकसका क्षणहरूसँग अन्जान उनले भने कुनै पनि परिस्थितिमा हरेस नखाने कुरामा सजग थिइन् ।
‘यस्तै त हो नि, यसरी नै चलिरहन्छ’ भन्ने दरिद्र र जडतापूर्ण सोचबाट उठेर काम गर्न कम्ती कठिन हुँदैन । परम्परागत समाजमा परिवर्तनका हलचल शक्तिशाली पराकम्पजत्तिकै स्पर्शाघातको अनुभूति गराउँछ । यस्तोमा परिवर्तनका आधार तय गर्नेहरूलाई आसलाग्दा क्षणको पर्खाइ गर्नुपर्छ । चण्डिका पनि लहरै आएका समस्या र बाधाअड्चनलाई पन्छाउँदै अस्पताल सुधारका काममा लागिन् ।
अस्पतालमा उनको जिम्मेवारी स्टाफ नर्सको छ । न्यूनतम सेवा मापदण्डमा खरो उत्र्न स्वास्थ्य संस्थालाई सघाउने निक साइमन फाउन्डेसनका तर्फबाट अस्पतालमा खटिएकी चण्डिका पाहोर प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट उत्कृष्ट सेवाबापत पुरस्कृत भइन् । त्यो सम्मानपछि अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले भनेका थिए, ‘चण्डिकाको क्रियाशीलता र मिहिनेतले अस्पतालको स्वास्थ्य प्रणालीमा जीवन्तता थपेको छ । कहिल्यै अल्छी नमान्ने र सिर्जनात्मक काम गर्ने उनको रहर तथा स्वाभाव नै हो जसले अस्पताललाई नमुनाका रूपमा स्थापित गरिरहेको छ ।’
कोरोनाकालमा ज्यानको परबाह नगरी संक्रमितको उपचारमा अहोरात्र खटेकीले उनलाई इन्टिग्रेटेड आइकन भन्ने संस्थाले कोरोना हिरोको उपाधिसमेत दिएको थियो ।
चण्डिकाले अस्पतालको सरसफाइ, सेवाको गुणस्तर सुधार र विस्तार, सेवाग्राहीसँग गनुपर्ने अत्यावश्यक व्यवहार आदि सबै कुरालाई कार्यान्वयन गर्न अस्पताल व्यवस्थापनलाई सघाइन् । चाडबाँडका बेला अस्पताल नै आइदिने सफाइकर्मीहरू अहिले दिक्कलाग्दा व्यवहार प्रदर्शित गर्दैनन्, सरसफाइ गर्नु नै आफ्नो काम हो भन्ने बुझेर तन्मयका साथ काम गर्छन् । स्वास्थ्यकर्मीरू बेलामा आउँछन् र काम सकाएरै फर्किन्छन् । सेवाग्राहीसँग झर्किने र चर्किने पुराना आनीबानी पुनरावृत्त गर्दैनन् । सेवा सञ्चालन गर्न जनशक्ति अभाव रहेका बाहेक अन्य सेवाका लागि उपलब्ध औजारउपकरणमा खिया लागेका छैनन् । चिकित्सकहरू पनि उपचारकार्यमा औपचारिकतामात्र नदेखाई प्राणरक्षककै भूमिका निर्वाह गरिरहेका छन् । स्वास्थ्य प्राविधिकहरूको तत्परताका कमी छैन ।
चण्डिकाले प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहका विषयमा सुनेकी थिइन् । एउटा परिपक्व र सुझबुझ भएका राजनीतिकर्मी हुन् भन्ने उनको बुझाइ थियो । शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएका परिवर्तनकारी चेतना भएका मन्त्रीसँग अस्पताल सुधारमा सहयोग पाउने आसा पनि थियो । नभन्दै प्रदेश सरकारबाट अस्पतालका लागि उपकरणहरु आउन थाले । अन्य व्यवस्थापकीय कार्यमा समेत सरकारले सघाउन थाल्यो । जसले गर्दा पनि उनी हौंसिइन् ।
खोप्लिङको डाँडाकाडा र अनि मुन्तिरको खुला चउरमा हुर्किएकी चण्डिका सानैमा तल्तिरको टाँडीबजारमा सरिन् । माओवादी जनयुद्वको पूर्वाद्वमै उनका पिता उत्तरकुमार अधिकारीलाई माओवादीहरूले काँग्रेसी भएका कारणले तीनपाटनको जङ्गलमा मरणासन्न हुने गरी फ्याँकेका थिए । मरिसकेको भन्दै जङ्गलमा छाडिएका उत्तरकुमारले काठमाडौंमा भएको उपचारपछि जीवनदान त पाएका थिए तर माओवादी विद्रोह साम्य नहुँदासम्म उनी कहिल्यै थातथलो फर्केनन् ।
‘यो हाम्रो घरपरिवारका लागि अप्ठ्यारो समय थियो । बुवाबिना नै म र मेरी आमा गाईवस्तु र खेतबारी सम्हाल्नुपरेको । करिब दस वर्षको उमेरसम्म त म बढीजसो एक्लै भैेसीबाख्रा चराउनेदेखि खतबारीमा फलेका मकैधान बेचेर घरगुजाराको रकम जोहो गर्थे,’ चण्डिकाले बाल्यकालको सङ्घर्ष सम्झँदै भनिन्, ‘पछि माओवादीहरूले तल्लो र माथ्लो गरी ३०–३५ रोपनी जग्गामा कालो झन्डा गाडेपछि बिजोक नै भयो ।’
चण्डिका शारदा मावि बेथटाँडीमा कक्षा ८ सम्म अध्ययन गरी रोजगारीका लागि द्वन्द्वपीडितलाई विदेश पठाउने सरकारी योजनाअन्तर्गत हङ्गकङ जान एक वर्षसम्म हाउसकिपिङको तालिम लिइन् । तर, त्यतिबेलै इराकमा नेपालीहरूको हत्या भएपछि भिसा लिन मात्र बाँकी रहेको उनी रोकिइन् । हाउसकिपिङको तालिममा खाना पकाउने, बढारकुढार गर्ने, लुगा धुने, लुगा आइरन गर्ने, गाडी सफा गर्नेजस्ता काम सिकेकी उनले त्यति नै बेला चाइनिज भाषा पनि सिकिन् ।
त्यसपछि उनी फेरि सिन्धुली सदरमुकाम फर्किइन् । गोमती नमुना उमाविबाट ९ र १० कक्षा उतीर्ण गरेकी उनले त्यहीँको धुराबजार प्राविधिक प्रशक्षिण केन्द्रबाट १८ महिने एएनएम कोर्स गरिन् । त्यसलगत्तै उनी उपल्लो मुस्ताङको घमी भन्ने ठाउँमा पुगिन् । जापानी नागरिकले सञ्चालन गरेको एमडिएस फाउन्डेसनमा काम गरिरहँदा उनले गाउँगाउँमा गएर बिरामी हेर्ने औसर पाइन् । ‘रोगव्याधिप्रति मुस्ताङ्गीहरूमा गजबको चेतना छ । उनीहरू सामान्य बिरामी पर्दा पनि स्वास्थ्यसंस्थाको सम्पर्कमा आउँछन्,’ दुई वर्ष उपल्लो मुस्ताङमा काम गरेकी उनले अनुभव सुनाइन् ।
उपल्लो मुस्ताङपछि भरतपुर झरेकी उनले त्यहीँ तीन वर्षसम्म स्टाफ नर्स पढिन् । त्यसपछि करारको जागिरमा जिल्लाकै गोलटार हुँदैे सदरमुकामस्थित जिल्ला अस्पताल । एक्लै पारामेडिक्स भए पनि उनले सिन्धुलीमा अपरेसन थिएटरचाहिँ चौबिस घन्टासम्म सञ्चालनमा ल्याइन् ।
त्यसपछि उनको यात्रा दक्षिणतर्फ मोडिएको छ । जलेश्वरमा सेफहाउस बनाउने योजनामा हिजोआज उनी लागेकी छिन् । ‘जलेश्वर नगरपालिकाले एक कठ्ठा जग्गा उपलब्ध गराएको छ । अब भवन बनाउने रकमको जोहो गर्नेतिर लागेकी छु ,’ चण्डिकाले भनिन् ।
उद्धारको पर्खाइमा पुरुष
बोल्न नसक्ने र खुट्टामा चोट लागेका करिब ३५ वर्षीय एक पुरुष अहिले जलेश्वर अस्पतालमा अलपत्र छन् । चण्डिकाको पहलमा उनी गत कात्तिक ७ गतेदेखि उनी अस्पतालमा आश्रय पाएका हुन् । ‘हामीले उनलाई एउटा ब्ल्यांकेट दिएका छौं । चोटको प्राथमिक उपचार गरिदिएका छौं । भरसक अस्पतालभित्र नै सुताउने प्रयास गर्छौं । तर उनी बाहिर नै सुत्न रुचाउँछन्,’ चण्डिकाले भनिन् । चण्डिकाले ती पुरुषलाई आश्रय दिन प्रदेशका मानव कल्याण आश्रमलगायत धेरैजसो सरकारी निकायलाई गुहारेकी छिन् । तर, प्रक्रियागत झमेला भन्दै प्रदेशका विभिन्न आश्रमहरूले पुरुषलाई आश्रय दिन अस्वीकार गर्दै आएको छ ।
