हिन्दु धर्म तथा सँस्कृतिमा आधारित तत्कालीन शासनव्यवस्थाले खुप्रे चन्द्रलाई नेपालको झन्डामा अंकन गर्नुका पछाडिको बलियो आधार तराई मधेसमा मनाइने महाचौठी चानको स्वरूपसँग मेल खान्छ ।

चन्द्रका अनेक रूपमध्ये राष्ट्रिय झन्डामा यही रूपको छनोट र प्रयोगले तत्कालीन शासकहरूलाई देशको दक्षिणी भूभागका धार्मिक, पौराणिक र साँस्कृतिक परम्परा, रीतितिथि र अभ्यासबारे जानकारी भएको हुनुपर्ने आकलन गर्न सकिन्छ । राष्ट्रिय झन्डामा अंकित महाचौठी चानको स्वरूपले अझ कुरामा बल पुर्याउँछ ।
चन्द्रमाको पूर्ण स्वरूप अर्थात् पूर्णिमाको चन्द्रलाई संसारले पुज्दछ । तर, चौठी चानको छुट्टै तर विशिष्ठ स्वरूपको पूजाआजा गर्ने परम्परा तराई मधेसमा मात्र छ । त्यसैले राष्ट्रियध्वजको स्वरूप डिजाइन हुँदा तत्कालीन समयमा पक्कै पनि तराई मधेसका कोही विज्ञविद्वानको सल्लाहसुझाव लिइएकोे हुनुपर्छ ।
नेपालको संविधान २०१९ जारी हुँदा धारा ५, अनुसूची १ मा नेपालको झन्डा बनाउने विषय उल्लेख छ । जो लिखित रूपमा नेपालको झन्डालाई संविधानमा स्थापित गरेको पाइन्छ । त्यसअघिको संविधानलाई सरसर्ती हेर्दा यस्तो कुनै व्यवस्था भएको देखिँदैन ।
तर, २०१९को संविधानभन्दा पहिलेदेखि नेपालको झन्डा अस्तित्वमा थियो तर स्वरूपमा उस्तै भए पनि सूर्य र चन्द्रको स्थानमा मुखारसमेत थपिएको थियो । पछिल्लो डिजाइनमा केही कुरा हटाइएको इन्जिनियर शंकरनाथ रिमालले बताएका छन् ।
हिन्दु धर्मसंस्कृतिप्रति लक्षित तत्कालीन कानुनमा खुप्रे चन्द्र राष्ट्रियध्वजको माथ्लो भागमा अंकित छ त्यसको आकार चतुर्थी तिथिको चन्द्राकारसँग शतप्रतिशत मेल खान्छ । जसबाट प्रमाणित हुन्छ कि महाचौठी चान पर्वको प्रतीक चिह्न हो त्यो ।
पृथ्वीनारायण शाहको जीवनारम्भ अघिदेखि झन्डाको तीनकुने मान्यता छ । सूर्यचन्द्र अंकित रहेको इतिहास साक्षी छ । हरिनन्दन ठाकुरको सहयोग सल्लाहमा झन्डाको आकारप्रकारलाइ अन्तिम रूप दिइएको थियो भन्ने कुराको भेउ मैले पाएको छु । यद्यपि यसबारे विस्तृत खोजीनीति गर्न भने बाँकी नै छ ।
महाभारत हुँदा यस क्षेत्रका सेनाहरू पनि कौरवका पक्षमा लडाइँ गर्न जाँदा झन्डाको प्रयोग गरेका थिए । त्यस युद्धमा प्रयोग भएको तीनकुने पताकालाई हिन्दु धर्मसंस्कृतिमा अत्यधिक महत्व दिएको पाइन्छ ।
यी विषयको चर्चालाई धेरैले बेमौसमी बाजा भन्न सक्लान् तर देशको झन्डाको अन्तरकुन्तर चियाउने मेरो प्रयास हो यो ।
यस वर्षको महाचौठीचान पर्व हामीले मनाइसक्यौं तर छठ पूजा आउँदैछ । चौठी चान फेरि पनि आउनेछ । नेपालको राष्ट्रियतासँग जोडिएको एकतासुत्रलाइ दरिलो मजबूत बनाउने नेपालको झन्डामा अंकित प्राकृतिक सूर्य र चन्द्रको अन्तर्वस्तु केलाइनुपर्छ ।
सूर्य र चन्द्रलाई देवताका रूपमा सम्मान एवम् पूजा गर्ने तराई मधेसको संस्कारको अनुसरण गर्दै नेपाल राज्यले वर्षौंअघि चन्द्र र सूर्यलाई झन्डामा स्थान दिएको कुरा स्थापित गरिनुपर्छ ।
यसले चौठीचान र छठ पर्व नेपालकै गौरवपर्व भएका र यी पर्वलाई राष्ट्रिय पर्वमा समावेश गरिनुपर्छ ।
(लेखक यादव धर्म र संस्कृतिका अध्येता हुन् ।)
