जनकपुरधाम, १६ कात्तिक ।
स्थानीय तहको निर्वाचनको चार वर्ष पछि पुनः मतगणनामा निर्वाचित महोत्तरीका एक वडा अध्यक्षले पदभार ग्रहण गरेका छन् ।
महोत्तरी जिल्लाका मनरासिस्वा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रमेशकुमार रायले सोमबार एक समारोहबीच पद तथा गोपनियताको सपथसंगै पदभार ग्रहण गरेका हुन् ।
नगरपालिकाका नगर प्रमुख सजंय कुमार सिंहको उपस्थितिमा सपथ लिएका थिए ।
उनले आफू यो मुदा मामिलामा पर्न नचाहे पनि जनताले आग्रह गर्दा मुद्दा मामिलामा गएको र अन्त्यमा जित भएको वडा अध्यक्ष रायले
बताए ।
०७४ असोज २ मा स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन भएको ६ दिनपछि त्यहाँको नतिजा सार्वजनिक गरिएको थियो ।
स्वतन्त्र उमेदवार रमेशकुमार राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।
अन्तमा दुवै उमेदवारले समान २ सय ६७ मत ल्याएपछि गोला प्रथाबाट चौधरी निर्वाचित भएका थिए ।पराजय अस्वीकार गर्दै रायले अदालतमा मुद्दा दर्ता गरेका थिए ।
उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो ।
उच्च अदालतको आदेशपछि निर्वाचित चौधरी सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्चले उच्च अदालत जनकपुरको आदेशलाई सदर गरिदिएपछि गएको कार्तिक ८ गते पुनः मतगणना भएको थियो ।
जसमा २६८ मत ल्याएर राय वडाध्यक्षमा विजयी भएका थिए भने सुरुमा निर्वाचित वडाध्यक्ष अरुण चौधरी दुईभोट कम २६६ भोट ल्याएर पराजित भए ।
