अहिलेका


‘चुगला’ लाई रछ्यानमा फ्याक्दै सकियो सामाचकेवा

जनकपुरधाम, ३ मंसिर ।
महिलाहरूको सङ्गठित प्रतिरोध, चेलीबेटी र माइतीबीचको अटूट प्रेम र घुसघुसे एवं पोल्याहा (चुगला) हरूलाई सजाय दिने सन्देश बोक्ने सामा–चकेवा पर्व शुक्रबार चुगलाको मुर्तिलाई भने रछ्यानमा फ्याकेर सकिएको छ ।

आजै दाजुभाइले आफ्नो घुँडामा राखेर भाँचिदिएका सामा, चकेवा र अन्य मूर्तिहरूलाई गाउँननजिकका खोला, पोखरी वा तलाउमा विसर्जन गरिएको छ ।

यसअघि पूर्णिमाका दिन बिहान ती मूर्तिलाई सफासुग्घर बनाई रङरोगन गरी विशेष किसिमले सजाइएको थियो । त्यसपछि सामाचकेवा खेल्ने किशोरीहरूले आँफूले गाउँगाउँ डुली अभिभावकवर्गबाट संकलन गरेको रकम र अन्नादिको उपयोग गरी तैयार गरिएको प्रसाद दही, चिउरा, चिनी र मिठाईसहित विभिन्न परिकारको भोजन तैयार गरी साँझ मूर्तिहरूलाई भोजन गराई आआफ्ना दाजुभाइलाई मूर्तिकै जुठोस्वरूप प्रसादका रूपमा दिएका थिए ।

मिथिलाञ्चलमा यो उत्सव छठ पर्वको अघिल्लो दिनबाट सुरु भएको थियो । रात्रिका बेलामा नौदेखि एघार दिनसम्म यो पर्व मनाइने चलन छ ।

दाजु र बहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने सामाचकेवा पर्वको समापनमा दिदीले भाइलाई टीका लगाइदिँदै ।

मिथिलाञ्चलका गाउँगाउँमा स्त्रीहरू ‘सामा–चकेबा’को अभिनय गर्दछन् । यस पर्वमा यो र यसै कथानकसँग जोडिएका पात्रहरू शाम्बा (सामा), चकेवा (चारुवाक)का अतिरिक्त शाम्ब, सतभैया, खडरीच, चुगला (चूडक), वृन्दावन, चौकीदार, झांझी, कुकुर (कुत्ता) आदिको माटाको मूर्ति निर्माण गरी असाध्यै रोचक अभिनय गरिन्छ ।

दाजु र बहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछन् । तराई–मधेसको लोकनाटकको झझल्को दिने यस पर्वका दुईवटा प्रमुख पात्र हुन्छन् सामा र चकेवा । सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र । त्यसैगरी समाजको खलपात्रको प्रतीकका रूपमा चुक्ली लगाउने अर्को पात्र ’चुगला’ पनि हुन्छ । विभिन्न पात्रको प्रतीकका रूपमा बनाइएका माटाका मूर्तिलाई बाँसको टोकरीमा राखी कात्तिक शुक्ल पञ्चमीको साँझदेखि टोलछिमेकका दिदी बहिनीहरू गाउँको बाहिर खुला ठाउँमा एकभित्र भई सामा–चकेवासम्बन्धी गीतहरू गाउँछन् र अभिनय गर्दछन् ।

यसक्रममा समूहमा महिलाहरू डालो (ढाकी)मा मूर्तिहरू सजाउँदै कार्तिकको शुक्लपक्ष पञ्चमीको बेलुकाबाट सुरु गरी गाउँगाउँको दोबाटो, चौबाटो, चोक आदि स्थलमा भेला भई लोकगीत गाउँदै नृत्य गर्दछन् ।

सामा खेले चलली सखी सँग सहेली हो.., साम चके साम चके अइहो हे जोतला खेत में बैसिहो है.., चुगला करे चुगलपन बिलैया करे म्याउँऊं, चुगला के फांसी देंऊ जस्ता लोकगीत गाउँदै चुगलाको मूर्तिमा टाँसिएको दाह्री र जुँघालाई प्रत्येक दिन डढाउँदै त्यस चुगलाको प्रतिमालाई महिलाहरू कुटेपिटे झैं पनि गर्दछन् ।

गीतमा आफ्ना दाजुभाइको प्रशंसा तथा चुक्ली लगाउने भन्ने पात्रलाई गाली गरिएको हुन्छ । त्यसैगरी सामा–चकेवालाई शीत र दूबो खुवाइन्छ । सामा–चकेवालाई शीत र दूबो खुवाइसकेपछि मूर्ति राखिएका टोकरीलाई बीचमा राखी त्यहाँ उपस्थित दिदीबहिनीहरू वृत्ताकारमा बस्दछन् र टोकरीलाई दाहिने हातले एकले अर्कालाई दिंदै बाँया हातले फेरि लिने गर्दछन् । दिने र फर्काउने यो क्रम नथाकेसम्म गीत गाउने र अभिनय गर्ने क्रम चलिरहन्छ ।
त्यसपछि असत्य, पाप र असामाजिक तत्वको प्रतीकका रूपमा रहेको चुक्ली लगाउने पात्रको जीउमा आगो लगाइन्छ । त्यसपछि दिदी–बहिनीहरू सामा–चकेवाको गीत गाउँदै आ–आफ्नो घर फर्कन्छन् ।

घर पुगेपछि सामा–चकेवाको टोकरीलाई आँगनमा राखी धानको बाला खुवाई रातभरि बाहिरै राखिन्छ । यो क्रम पञ्चमीदेखि चतुर्दशीका दिनसम्म चलिरहन्छ र पूर्णिमाका दिन यो लोकपर्वको विसर्जन गरिन्छ ।


Leave a Reply

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!