जनकपुरधाम, २२ कात्तिक ।
मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारीमा श्रद्धालुहरु लागेका छन् । व्रतालुहरु आज नहाए खाए विधिसंगै छठ व्रतको शुभारम्भ गरेका छन् भने श्रद्धालुहरु छठ पर्वमा प्रयोग हुने पूजाका सामाग्री जुटाउनमा व्यस्त छन् । छठ पर्वमा अनिवार्य रुपमा प्रयोग हुने पूजा सामग्रीमा केरा तथा नारिवललगायतका फलफुल पर्छ ।
जसका कारणले गर्दा फलफूल मण्डीमा केरालगायका सामग्री किन्न आउनेहरुको भीड बढेको छ । छठ पर्वको प्रमुख प्रसाद रहेको केरा किन्नेहरुको जनकपुरधामका मुख्य बजारहरुमा केही दिन देखि निकै भीड लागेको छ । प्रत्येक वर्ष झैँ यसवर्ष पनि केराको विक्री छठ पर्वको पूर्व सन्ध्यामा व्यापक वृद्धि भएको छ ।
अन्य वर्षहरु भन्दा महँगो मूल्यमा श्रद्धालुहरु केरा किन्न यस वर्ष पनि बाध्य छन् । केही साता अघि ६० रुपैयाँ देखि ७० रुपैयाँ प्रति दर्जन बिक्री हुने केरा छठ पर्वको पूर्व सन्ध्यामा मूल्य ८० रुपैयाँ देखि ९० रुपैयाँसम्म खरिद विक्रि भइरहेको छ ।
कोरोना संक्रमणले गर्दा दुई वर्ष अघि अभाव खेपेका छठ पर्व श्रद्धालुहरुले यस वर्ष केराको अभाव छैन । जनकपुरधामस्थित फलफुल मण्डीका पूर्व महासचिव भूवनेश्वर पूर्वेले विगत जस्तो यस वर्ष केराको अभाव नरहेको बताए । उनका अनुसार जनकपुरधाम बजारमा पछिल्लो वर्ष ६० ट्रक केराको आयात गरिएको थियो भने यस वर्ष एक सय ट्रक केरा आयात गरिएको छ, पूर्वेले भने ‘पछिल्लो वर्ष २ करोड मूल्य बराबरको केरा आयात गरिएको थियो जबकि यो वर्ष ५ करोड रुपैयाँको केरा आयात गरिएको छ ।’ उनले अघि थप्दैँ भने, ‘विगतमा कोरोना संक्रमणका कारण निकै केरालगायत फलफुलको अभाव रह्यो, तर यस वर्ष भिडभाड पनि बढेको छ, र केरा पनि पर्याप्त मात्रामा उपलब्ध छ ।’
जनकपुरधाम बजारमा भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट आयात गरिदै आएको छ । जबकि यस वर्ष नवलपरासीको त्रिवेणीबाट केरा बढी मात्रामा भित्रिने गर्छ ।
भारतबाट करीब ३ करोड रुपैयाँ मूल्य बराबरको केरा लगायत फलफुल आयात गरिएको छ भने नवलपरासीबाट करिब २ करोड रुपैयाँ मूल्य बराबरको ३० ट्रक केरा छठ पर्वमा विक्री गर्न आयात गरिएको जानकारी अर्का फलफूुल व्यवसायी जागेश्वर साहले दिए ।
भारतको केरा सस्तो भएपनि नेपाल भित्र्याँउदा भन्सार बढी तिर्नुपर्ने भएकाले केराको मूल्य आकाशिएको हो, केरा व्यवसायी साहले भन्सार शुल्क पहिला ७ प्रतिशत मात्रै लाग्थ्ययो तर अब भन्सार साढे १३ प्रतिशतसम्म शुल्क पुगेकाले महँगो हुन पुगेको बताए ।
भारतबाट मगाउँदा सस्तो दर भएपनि भन्सार शुल्क, ढुवानी खर्च र विषादी चेकजाँच समेतमा ढुवानी खर्च बढेकाले नेपालको केरा महंगो भएपनि दुवैको मूल्य बराबर रहेको उनको भनाइ छ ।
छठका लागि केरा किन्न पुगेका राके झाले पहिलेको तुलनामा छठ पर्व धेरै महँगिएको बताए ।
